काठमाडौं – आज जेठ १९, अर्थात पूर्वराजा वीरेन्द्रको वंशनाश भएको २० वर्ष पूरा भएको दिन । २०५८ आजकै दिन नारायणहिटी राजदरबारमा भएको घटनामा राजा वीरेन्द्र र रानी ऐश्वर्यलगायत राजपरिवारका १० जनाको हत्या भएको थियो । त्यसैले, यो दिनलाई इतिहासकै ‘कालो दिन’का रुपमा लिइन्छ ।
आज विभिन्न क्षेत्रका व्यक्तिहरुले राजा वीरेन्द्र र उनको परिवारलाई सामाजिक सञ्जालमार्फत स्मरण गरिहेका छन् ।
यसैबीच, अभिनेत्री वर्षा शिवाकोटीले पनि राजा वीरेन्द्रको स्मरण गरेकी छिन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस लेखेर जेठ १९ को घटनाको स्मरण गरेकी छिन् ।
‘एउटा यस्तो घटना, जसले सम्पूर्ण देशलाई स्तब्ध बनायो, जनताले स्वाभाविक हिसाबले टुहुरो भएको महसुस गरे र सबैले भने, कालो दिन’, वर्षाले लेखेकी छिन् ।
वर्षाले जनताले तत्कालीन राजसंस्थालाई अझै पनि श्रद्धाका साथ स्मरण गरिरहेको उल्लेख गर्दै अहिले राजसंस्था नभए पनि अहिलेको अवस्था हेर्दा सांस्कृतिक राजतन्त्र भए केही फरक नपर्ने जस्तो प्रमाणितहुँदै गएको दाबीसमेत गरेकी छन् ।
‘एउटा अभिभावक संस्थाको खाँचो परेको छ, जसले थुप्रै छोटे राजाहरूलाई खबरदारी गर्न सकोस् । जेठ १९ त्यो कालो दिनमा मारिएका सबैमा भावपूर्ण श्रद्धाञ्जलि’, राजपरिवारको तस्बिर शेयर गर्दै उनले लेखेकी छिन् ।
