काठमाडौं - सोमबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बेलुकी ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।
आज बस्ने मन्त्रिपरिषद्को नियमित बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । बैठकमा कोभिड–१९ लगायतका विषयमा छलफल गरेर थप निर्णय लिने बताइएको छ ।
यतिबेला प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र शर्वेन्द्रनाथ शुकलासँग छलफल गरिरहनुभएको छ । प्रधानमन्त्री ओलीसँग सरकारमा सहभागी हुने विषयमा उनीहरुबीच छलफल भइरहेको बताइएको छ ।
जसपाको महन्थ पक्षलाई ८ मन्त्रालय दिने गरी सरकारमा सहभागी गराउने तयरीमा प्रधानमन्त्री ओली रहेको बताइएको छ ।
जसपाबाट मन्त्रिमण्डलमा को को जाने भन्नेबारे छलफल चलिरहेको छ । तर मन्त्रीका आकांक्षी धेरै हुँदा निर्णय लिन ढिलाइ भएको जसपा स्रोतले जनाएको छ ।
सरकारलाई हेर्ने विषयमा दुई धार हुँदा जसपा विभाजनको संघारमा छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ओली सरकारको विस्थापनाको पक्षमा छन् भने महन्थ पक्षले सरकारलाई सघाइरहेको छ ।
यसैबीच आइतबार मात्र यादव पक्षले अध्यक्ष ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोसहित चारजना नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।