काठमाडौं - साताको पहिलो कारोबार दिन बिहीबार तीव्र उतार–चढावबीच सेयर बजार कारोबार रकम र बजार परिसूचक दुवैमा नयाँ रेकर्ड बनेको छ । गएको बिहीबार २८१५.४० अंकमा बन्द भएको नेप्से आज आइतबार १२.५४ अंकले बढेर २८२७.९३ अंकमा बन्द भएको छ ।
जेठ ११ गते मंगलबार २८२३.०७ अंकसम्म पुगेको नेप्सेमा बुधबार र बिहीबार समान्य करेक्सन भएको थियो । गत साता मात्रै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सट ट्रम ट्रेडिङमा रोक लगाएको तथा लघुवित्तको सेयर खरिदमा प्रतिबन्ध लगाएको छ ।
त्यस्तै, शनिबार आएका आर्थिक अध्यादेशले सेयर बजारमा १ वर्षभन्दा कम अवधिमा सेयर बिक्री गर्नेलाई लाभकरसमेत बढाएको छ ।
यसले सेयर बजारमा नकारानत्मक प्रभाव पर्ने अनुमानविपरीत बजारले एकपछि अर्को रेकर्ड बनाउँदै गएको छ । बजार परिसूचकमा मात्रै नभएर कारोबार रकम पनि दिनप्रतिदिन बढ्दै गएको छ । सेयर बजारमा नेप्सेले मात्रै नभएर कारोबार रकममा पनि नयाँ रेकर्ड बनेको छ ।
गत बिहीबार १४ अर्ब ७६ करोडको कारोबार भएको बजारमा आज उक्त रेकर्ड ब्रेक गर्दै १७ अर्बको कारोबार भएको छ । ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता सेयर किनबेच हुँदा आज नेप्सेमा १७ अर्ब २ करोड ८४ लाख ३२ हजारको कारोबार भएको छ । जुन नेप्सेमा एकै कारोबार दिनमा भएको सबैभन्दा उच्च कारोबार हो ।
यसअघि, जेठ १३ गते बिहीबार १४ अर्ब ७६ करोड ८ लाख ८ हजारको कारोबार भएको थियो ।