काठमाडौँ । गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । जेठ ११ मा मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले बजेट अधिवेशन डाक्नुभएको थियो ।
अधिवेशनको पहिलो दिन आज प्रदेश सभाका संसदीय दलका नेताहरूले बोल्ने छन् । भोलि प्रदेश सभामा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरिने छ ।
प्रदेशमा आगामी आर्थिक वर्षमा बजेट घटेर आउने भएको छ । चालु आर्थिक वर्षभन्दा करिब ३ अर्ब रुपैयाँ घटेर आगामी आर्थिक वर्षका लागि बजेट आउने देखिएको छ । चालु आर्थिक वर्षमा ३४ अर्ब ८४ करोड २१ लाख रुपैयाँको बजेट ल्याइएको थियो ।
भोलि बजेटको सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेपछि सदनमा नीति कार्यक्रम प्रस्तुत हुने छ । प्रदेश सरकारलाई असार १ गते बजेट ल्याउनै पर्ने बाध्यता छ ।
यसैबीच, यही अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पनि लिनुपर्ने छ । २९ बैशाखमा दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएका मुख्यमन्त्री गुरुङले ३० दिनभित्र विश्वासको मत लिनै पर्ने संवैधानिक प्रावधान छ ।
गुरुङले विश्वास नपाए प्रदेश मध्यावधिमा धकेलिने सम्भावना छ । ३ सांसद भएको राष्ट्रिय जनमोर्चाले सत्तारुढ एमालेलाई साथ दिएमात्र गुरुङलाई विश्वास पुग्छ । अघिल्लो पटक कांग्रेस नेतृत्व गठबन्धनलाई साथ दिने निर्णय गरेको जनमोर्चाले अहिले के गर्छ टुङ्गो छैन ।