Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीको राजीनामाबारे माधव नेपाल र बामदेव गौतमले नै यस्तो भनेपछि...

प्रधानमन्त्रीको राजीनामाबारे माधव नेपाल र बामदेव गौतमले नै यस्तो भनेपछि...

  • बिहिवार, श्रावण ८ २०७७

  • 1.2K
    SHARES

  • प्रधानमन्त्रीको राजीनामाबारे माधव नेपाल र बामदेव गौतमले नै यस्तो भनेपछि...

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आइलागेको सत्तासंकट दोस्रो पटक पनि टरेको छ । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने अडानबाट नेताहरु पछि हटेपछि ओलीको सत्तासंकट मोचन भएको हो । प्रचण्ड–माधव नेपाल समूहका नेताहरुले अब ओलीले राजीनामा दिन नपर्ने आशयसहितका अभिव्यक्तिहरु सार्वजनिक गरिरहेका छन् । तर योबीचमा पार्टीभित्र कस्तो खालको सहमति विकसित भएको हो भन्ने कुरा भने बाहिर आएको छैन ।

    कतिपयले अब पार्टीको एकता महाधिवेशन छिट्टै गर्ने र महाधिवेशनपछि ओलीले सरकार र पार्टी दुवैको नेतृत्व त्याग गर्ने ढंगले दुवै समूहबीच सहमति जुटेको दाबी गरिरहेका छन् । तर पार्टीभित्रबाट त्यसको स्वतन्त्र पुष्टि भएको छैन । यद्यपि अब ओलीले तत्काल राजीनामा दिन नपर्ने आशयका अभिव्यक्तिहरु नेताहरुबाट सार्वजनिक भइरहेका छन् । सुरुमा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने अडानमा रहेका भनिएका उपाध्यक्ष वामदेव गौतमले अब ओलीले राजीनामा दिनुपर्ने अडानमा आफू नरहेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको राजीनामाको विषयमा पार्टीभित्र कुनै प्रस्ताव नै नआएको जिकिर पनि गर्नुभयो ।

    यस्तै नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले पनि व्यक्ति फेर्ने भन्दा पनि अहिलेको बहस पद्धति फेर्ने कुरामा रहेको बताउनुभयो । नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा नेता नेपालले व्यक्तिलाई परिवर्तन गर्ने तर पद्धति यथावत राख्ने कुरा उपयुक्त नहुने बताउनुभयो । उहाँले केपी ओलीका विरुद्ध गुटबन्दी गरेर नेताहरु लागे भन्ने कुरा पनि सत्य नरहेको जिकिर गर्नुभयो ।

    केपी ओलीले तत्काल राजीनामा दिनुपर्ने अडानबाट पछि हटेको सन्देश दिएका नेताहरुले अर्काेतिर ओलीको विपक्षी गुटलाई बलियो पार्ने अभियानलाई भने तीव्रता दिन छाडेका छैनन् । प्रचण्ड–माधव नेपाल समूहले ओली खेमाका विरुद्ध गुटगत भेला र छलफललाई नरोकेका हुन् । योबीचमा नेताहरुले गुट फेरेका चर्चाहरु पनि भइरहेका छन् । यसैबीच उपाध्यक्ष बामदेव गौतमले आफू प्रचण्ड–माधव नेपाल समूहमै रहेको स्पष्ट पारेका छन् । अहिले तपाई पचण्डतिर कि माधव कुमार नेपाल तिर कि केपी ओली तिर भन्ने प्रश्नको जवाफमा नेता गौतमले अहिले आफू प्रचण्ड नेपाल समूहमै रहेको स्पष्ट जवाफ दिनुभएको हो ।

    अघिल्लो पटक दल फुटाउने अध्यादेश ल्याएपछि प्रधानमन्त्रीको राजीनामाको विषय चर्काे गरी उठाएका नेता गौतमले अन्तिम अवस्थामा ओलीलाई साथ दिएपछि राजीनामाको विषय सेलाएको थियो । त्यतिबेला ओलीले बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभएको थियो भने पछि उक्त प्रस्ताव आफूले विपक्षीलाई ठेगान लगाउन टियर ग्यासका रुपमा प्रयोग गरेको अभिव्यक्ति दिनुभएको थियो । पार्टी भित्रको पछिल्लो विवाद उत्कर्षमा रहेका बेला गौतम फेरि ओलीलाई छाडेर प्रचण्ड नेपाल समूहमै भित्रिएका हुन् । यता वरिष्ठ नेता माधव कुमार नेपालले पनि पार्टी बनाउन व्यक्ति पूजा गर्ने प्रवृत्तिलाई हटाउनै पर्ने बताउनुभयो । अहिले पार्टीमा व्यक्ति पूजा गर्ने प्रवृत्ति मौलाइरहेको बताउँदै उहाँले त्यसलाई प्रोत्साहन गर्न नहुने बताउनुभयो ।

    तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा झण्डै दुई तिहाई बहुमतसहितको सरकार हाँकिरहेको छ । तर केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध विपक्षीले भन्दा धेरै पार्टीभित्रैबाट प्रहार भइरहेको छ । दुई पार्टी मिलेर एउटै पार्टी निर्माण भएको भए पनि नेताहरु पूर्वपार्टीको धारमा विभाजित छन् । तर केही नेताहरुले पूर्व पार्टीको धार परित्याग गरेपछि ओली सरकारमाथि आइलागेको सत्तासंकट रोचक बन्दै गएको छ ।

     


    बिहिवार, श्रावण ८ २०७७०७:५६:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij