काठमाडौँ — प्रधानन्यायाधीशको एकल इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी १९ रिटलाई पनि संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ।
बिहीबारको प्रधानन्यायाधीशको एकल इजलासमा १९ रिट निवेदनको सुनुवाइ भएको थियो।
सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलले नियमित एकल इजलासमा प्रतिनिधिसभासम्बन्धी रिटको सुनुवाइपछि सबै निवेदन संवैधानिक इजलासमा सुनुवाइ हुने आदेश भएको जानकारी दिनुभयो ।
अब प्रतिनिधिसभा विघटनसम्बन्धी परेका सबै रिट संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। अब पहिल्यै संवैधानिक इजलासमा तोकिएका ११ वटा र १९ गरी ३० वटा रिट निवेदनको शुक्रबारदेखि संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ।
विपक्षी दलहरूसहितको गठबन्धनले पनि १४६ सांसदको हस्ताक्षरसहित संसद् पुनस्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग राखी निवेदन दर्ता गराएको छ । उक्त निवेदनको शुक्रबार मात्र सुनुवाइ हुनेछ ।