काठमाडौँ । कोरोना भाइरस महामारीको दोस्रो लहर तिव्र बनेसँगै संक्रमण रोकथाम तथा नियन्त्रणका जारी गरिएको निषेधाज्ञा झन् काडाइका साथ थप्दै लगिएको छ । देशभरका बढी प्रभावित क्षेत्रमा एक महिना अघिदेखि नै निषेधाज्ञा घोषणा गरिएको थियो भने बैशाख १७ बाट काठमाडौँ उपत्यकामा पनि निषेधाज्ञा जारी गरिएको हो ।
निषेधाज्ञा जारी गरिएको झण्डै तीन हप्तासम्म संक्रमणदर र मृत्युदरले नयाँ–नयाँ रेकर्ड कायम गरेपनि पछिल्लो केही दिनयता यो दर कम हुँदै आएको छ ।
संक्रमण दर उच्च भएको क्षेत्रमा निषेधाज्ञा जारी गरिएकै कारण पछिल्लो दिनमा संक्रमादरसँगै ज्यान गुमाउनेको संख्यामा पनि कमी आएको चिकित्सकहरु बताउँछन् । तर केही मात्रामा प्रभावकारी देखियो भन्दैमा सधैँ यसलाई अपनाइराख्ने भन्दा पनि कोरोना निदानको बिकल्प खोप नै भएकाले यसको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा टेकु अस्पतालका डा. अनुप बास्तोला जोड दिनुहुन्छ ।
निषेधाज्ञाका कारण विषेशगरी दैनिक ज्यालादारी गरेर जीविकोपर्जन गर्ने मजदुर मार खेप्न बाध्य छन् भने साना व्यापारीदेखि ठूलो घारानाका व्यावसायीहरु पनि यसको चपेटामा परेका छन् । शिक्षा क्षेत्रले पनि ठूलो क्षति बेहोरीरहेको छ भने कोरोना संक्रमितको उचापरका लागि स्वास्थ्य प्रणालीले नै थेग्न हम्मेहम्मे परिरहेको छ ।
यस्तो अवस्थामा निषेधाज्ञा एउटा साधक नभइ साध्य मात्र हुने बरिष्ठ चिकित्सक डा. भोला रिजालको भनाइ छ । महामारीबाट पार पाउन निषेधाज्ञासँगै गाउँ–सहरका कुना–कुनासम्म कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने, संक्रमितको उचित व्यवस्थान र उपचारमा ध्यान दिनुपर्ने र विषेशगरी खोपको जोहोमै सरकारले सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने डा. रिजाल बताउनुहुन्छ ।
कोरोना संक्रमितको संख्या अत्यधिक बढ्दै जाँदा आईसीयू बेड, भेन्टिलेटर, अक्सिजन लगायतका स्वास्थ्य सामाग्री व्यवस्थानपमा चासो नदिएको भनेर सरकारको आलोचना हुँदै आएको छ । तर सरकारी पक्ष भने निरन्तर आफ्नो बचाउमा लागि रहेको छ ।
दुई चरणको खोप अभियान सञ्चालन भएको र अझै खोप आयातका लागि पहल भइरहेको भन्दै सरकार जनताको जीवन रक्षाका निम्ती सर्मपित भएको वनमन्त्री प्रमे आलेको जिकिर छ । अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामाग्री बाहिरबाट आयात गर्नुपर्ने हुँदा केही समस्या हुनु र अहिलेको जस्तो अवस्था आउनुलाई त्यत्ति अन्यथा लिन नहुने मन्त्री आले बताउनुहुन्छ ।
यता, विपक्षी दल नेपाली कांग्रेसले भने कोरोना महामारीकै आडमा सरकारले राजनीति गरिहेको आरोप लगाएको छ ।
सरकार नागरिकको जीवन रक्षामा भन्दा उल्टै आतंक फैलाएर राजनीतिक स्वाथ्र्य सिद्धीमा लागेकोले आफूहरु निरन्तरको यसको विरोधमा लाग्ने कांग्रेस सह–महामन्त्री प्रकाशशरण महतको भनाइ छ ।
पछिल्लो केही दिनयता स्वास्थ्य लाभ लिनेको संख्या बढेको छ भने थपिने कोरोना संक्रमितको संख्यामा केही कमि आएको छ । यसको निरन्तरतालाई कायम राख्दै कोरोनाको चेन बे्रक गर्नका लागि सम्बन्धित सबै पक्ष थप सजक र सतर्क हुनुपर्ने जरुरी देखिन्छ ।