काठमाडौं । सरकारले नागरिकतासम्वन्धी अध्यादेश जारी गरेपछि जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने तयारी गरेको छ ।
पार्टीको आफ्नो पक्षको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेकाले नेताहरु मन्त्री छनौटमा लागेका छन् ।
सरकारले आफ्ना मागहरु धमाधम सम्वोधन गर्न थालेकाले सहभागी हुने निर्णय भएको एक नेताले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिए ।
मधेशी आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्ता, जन्मसिद्ध नागरिकलाई वंशजको नागरिकता दिने, संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्नेलगायतका निर्णय सरकारले गरेकाले सरकारलाई साथ दिनु पर्ने निश्कर्षमा ठाकुर पक्षका नेताहरु पुगेका हुन् ।
पार्टीको तर्फबाट को कोलाई मन्त्री बनाउने भन्ने बारेमा टुंगो लागेपछि मन्त्रीपरिषद् विस्तार हुने जनाइएको छ । संभवतः राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित कुनै मन्त्रालय सम्हाल्नेगरी उहाँकै नेतृत्वमा जसपा सरकारमा सहभागी हुने नेताहरुले बताएका छन् ।
सरकारमा सहभागी हुन जसपा नेपालले ८ वटा मन्त्रालयले माग गरेको छ । सर्वोच्च अदालतले सांसद नरहेका पूर्व माओवादी नेताहरुलाई मन्त्री बन्न नमिल्ने फैसला गरेपछि आठ मन्त्रालय अहिले खाली गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो दिउसो अध्यादेश जारी गरेपछि बेलुका ठाकुर पक्षको बैठक बसेको थियो ।