काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार ९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ९६५ नमुना पीसीआर विधिबाट परीक्षण भएको छ भने ९३१ नमुना एन्टिजिन विधिबाट भएको छ ।
जसमा ७ हजार ५९८ जनाको पीसीआर विधि र एन्टिजिन विधिबाट ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, काठमाडौं उपत्यकाभित्र थप २ हजार ८ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ। भक्तपुरमा ३ सय ६६, ललितपुरमा ६ सय ९४ र काठमाडौंमा १ हजार ७ सय ६१ जनामा संक्रमण देखिएको हो।
यस्तै २४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा थप १९३ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ९१ हजार ३४८ पुगेको छ भने कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार ३४६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
हाल देशभर १ लाख १५ हजार ५४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये संस्थागत आइसोलेशनमा ७ हजार ३४९ जना र होम आइसोलेशनमा १ लाख ८ हजार १९८ जना रहेका छन् ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव अगाडि नै सबै जनतालाई खोप लगाउने प्रयासमा सरकार रहेको बताउनुभएको छ । आज बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले खोपलाई चुनावी खर्चसँग जोडेकोमा असन्तुष्टि जनाउनुभयो ।
जनतालाई भावनामा बगाएर सार्वभौमसत्ता प्रयोग गर्नबाट बन्चित गराउनु सेन्टिमेन्टल ब्याकमेलिङ रहेको उहाँले बताउनुभयो । सार्वभौसमत्ताको प्रयोग र उपचार पाउने हक बेग्लाबेग्लै विषय रहेको प्रधानमन्त्रीले बताउनुभयो ।
उहाँले जनताको उपचार पाउने हकको सम्मान गर्न सरकार दिनरात लागि परेको बताउनुभयो । तर जनताले भोटलाई केही कुरासँग पनि नसाट्ने भन्दै उहाँले सेन्टिमेन्टल ब्ल्याकमेलिङ गर्न खोजिएको आरोप लगाउनुभयो ।
उहाँले चुनावभन्दा अगाडि नै सबै जनतालाई खोप लगाउन विभिन्न मित्र राष्ट्र र खोप उत्पादकहरुसँग संवाद गरिरहेको बताउनुभयो ।