काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भनेको भन्दै आपत्ति जनाउनुभएको छ ।
बालुवाटारमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेसमा राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नरहेको बताउनुभएको हो ।
‘आज प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरेँ । राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नेपाली कांग्रेसमा रहेन । सभापतिको तहबाट राष्ट्रपतिको सम्बन्धमा बोलिएको भाषामा तिमी, उनी, यसो गरिन् भन्ने बोलिएको छ,’ ओलीले भन्नुभयो।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि उक्त कदमको विरोध गर्दै सभापति देउवाले शनिबार विज्ञप्ति जारी गर्नुभएको थियो । विज्ञप्तिमा देउवाले राष्ट्रपतिलाई तिमी भन्ने भाषा प्रयोग गर्नुभएको छ ।
सोही विषयलाई लिएर प्रधानमन्त्री ओलीले आपत्ति जनाउनुभएको हो । राष्ट्रपतिमाथि त्यस्तो भाषा बोलिएको भन्दै ओलीले देशलाई अराजकतातिर लान खोजिरहेको आरोप लगाउनुभयो ।
‘अचम्म लाग्छ मलाई जसले लोकतन्त्र मान्दैन, लोकतान्त्रिक आचरण मान्दैन उनीहरु लोकतन्त्रका हिमायती भएर मयूरका प्वाँख जोडेर मयूर भएको नक्कल गर्दै स्वाङ पार्दैछन्,’ उहाँले भन्नुभयो, ‘आदर्शका नक्कली कुरा गर्दै हिँड्ने । देशलाई अराजकता, असभ्यतातिर लान खोजिरहेका छन् । भाषाको हिसाबले, गालीगजौज तथानाम बोलेका छन् ।’
जनताका छोराछोरी सम्मानित पदमा पुगे सम्मान गर्न हुँदैन भन्ने सोच रहेको ओलीको टिप्पणी छ ।
‘सामन्तवादप्रतिको दलाली त्यस ठाउँमा एउटा कुलिन घराना जन्मसिद्ध सिद्धान्तको पाखण्ड आधारमा आएको नालायक पात्र राजा नामको कोही हुन्थ्यो भने कस्तो कस्तो भाषा बोलिन्थ्यो,’ उहाँले भन्नुभयो, ‘त्यहाँ निहुरिएर, हात मुसारेर के–के भाषा बोल्थे यिनै मानिसहरु । आज जनताका छोराछोरी सम्मानित पदमा पुगे सम्मान गर्न हुँदैन भन्ने सोच छ । तपाईं पनि भन्न हुँदैन राष्ट्रप्रमुखलाई भन्छन् ।’
तर, कांग्रेस सभापतिको त्यसस्तरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको व्यापकता देखेर अचम्म लागेको ओलीको भनाइ छ ।