काठमाडौँ –संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेश गरेका छन् ।
राष्ट्रपतिले प्रतिनिधिसभाका दुई वा दुईभन्दा बढी दलको बहुमतसहित दावी पेश गर्न दिएको समयभित्र ओली र देउवाले आ–आफ्नो बहुमत रहेको भन्दै दाबी पेश गरेका हुन् ।
साँझ ५ बजेभित्र दाबी पेश गर्न भनिएकोमा ओली साढे ४ बजे नै बहुमत दाबी गरेर शीतल निवासबाट बाहिरिएका थिए भने देउवा पौने पाँच बजे दाबी पेश गरेर बाहिरिएका हुन् ।
ओलीले नेकपा एमाले र जसपाका १५३ जना सांसदको समर्थन रहेको दाबी गरेका छन् । उनलाई जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले पार्टीको समर्थन रहेको लिखित पत्र दिएका छन् ।
त्यस्तै देउवाले कांग्रेस,माओवादी,जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका माधव नेपाल पक्षको समर्थनमा १४९ जना सांसदको हस्ताक्षर बुझाएका छन् ।
दुवै पक्षले बहुमत दावी गरेकाले अब राष्ट्रपतिले दुवैले प्रस्तुत गरेको आधार अध्ययन गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए । ढकालका अनुसार अध्ययनका लागि केही समय लाग्नेछ ।
ओलीले एमालेका सबै १२१ जना सांसदहरु रहेको दाबी गरेका छन् । जबकि उनकै दलका बरिष्ठ नेता माधवकुमार नेपाल विपक्षी नेताहरुसँग शीतलनिवासमै राष्ट्रपतिलाई भेट्न शरीर पुगेका छन् । माधव पक्षका सांसदहरुले विपक्षी गठबन्धनमा हस्ताक्षर गरिसकेकाले ओलीसँग १२१ सांसद नरहेको कागजबाटै पुष्टि हुने कुरा हो ।
संविधानको धारा ७६ (५) ले दलगत रुपमा नभएर व्यक्तिलाई मात्रै चिन्ने संविधानविदहरुले बताउँदै आएका छन् ।
अब यो अवस्थामा राष्ट्रपतिले के गर्लिन् ? विपक्षी दलको बहुमतको हस्ताक्षर ग्रहण गर्छिन् या प्रधानमन्त्री ओलीको कुरा सुन्छिन् ?यसबारे प्रष्ट हुन केही समय अझै कुर्नुपर्नेछ ।