काठमाडौँ – नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेका छन् ।
उनले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन्।
‘संसदको सबभन्दा ठूलो दल भएकाले हाम्रो दाबी स्वभाविक हो । हामीसँग १२१ छ, जसपाका १६ जनाले साथ दिएपछि बहुमत पुग्यो’ एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने ।
ओली दाबी प्रस्तुत गरेर शीतल निवासबाट बालुवाटार फर्केका छन् । यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा १४९ सांसद जुटेको थियो ।
लगतै प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धनका नेताहरुसहित उनी शीतल निवास पुगेका थिए ।
ओलीले नेकपा एमालेका १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री पदको लागि दाबी प्रस्तुत गरेको उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए।
उनका अनुसार दाबी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गरेका छन्।