काठमाडौं _ निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ । बागमती प्रदेशबाट प्रतिनिधित्वका लागि बिहीबार हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधि सुरु भइसक्दा पनि आचारसंहिता उल्लंघन भइरहेका भन्दै आयोगले यस्तो चेतावनी दिएको हो ।
प्रवक्ता राजकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै आचारसंहिताविपरीत वक्तव्य दिने र विज्ञप्ति निकाल्नेको अभिलेख राखेर कारवाही गरिने चेतावनी दिनुभएको छ ।
निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट गृहमन्त्री रामबहादुर थापा उम्मेदवार हुनुहुन्छ ।
त्यस्तै, विपक्षी गठबन्धनबाट डा. खिमलाल देवकोटाले उम्मेदवारी दिनुभएको छ ।
एमालेको माधव नेपालकुमार समूहले आफैले विपक्षी गठबन्धनको उम्मेदवार बनाएकाले एमाले उम्मेदवार बादललाई मत दिन नसक्ने जनाएको छ ।
यसैक्रममा उम्मेदवार थापाले मंगलवार नेता नेपाललाई कोटेश्वरस्थित निवासमै गएर भेट्नुभएको थियो । तर, नेता नेपालले आफ्नो अडान नछोडेपछि आज प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञप्ति जारी गर्दै विपक्षमा उभिएर मत खसाउने कार्य क्षम्य नहुने चेतावनी दिनुभएको छ ।
प्रधानमन्त्रीले मौन अवधिमा आचारसंहिता उल्लंघन गरेर विज्ञप्ति निकालेको भन्दै आलोचना भइरहेका बेला आयोगको पनि प्रतिक्रिया आएको हो ।