काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा चारवटा रिट परेका छन् ।
वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसहित अधिवक्ताहरु राजकुमार सुवाल, सन्तोष भण्डारी र नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा आज छुट्टाछुट्टै रिट दर्ता गराएका हुन् ।
प्रधानमन्त्री ओलीले वाचन गरेको शपथ राष्ट्रपतिले वाचन गरेको शपथभन्दा फरक परेको भन्दै उक्त शपथ बदर गराउन माग गर्दै रिट दायर गरेका हुन् । रिटमा उक्त शपथ बदर गराएर फेरि शपथ गराउन र फेरि शपथ नगरी कामकाज गर्न नदिन आदेश माग गरिएको छ ।
प्रधानमन्त्री ओलीले गत बैशाख ३१ गते पद तथा गोपनियताको सपथ लिने क्रममा 'ईश्वर'को नाम उच्चाहरण गर्नुभएको थिए । साथै, उहाँले 'प्रतिज्ञा गर्दछु' भन्ने शब्द पनि उच्चाहरण गर्न चाहनुभएन । यसको सर्बत्र आलोचना भइरहेको छ ।