Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

जसपाको विवाद उत्कर्षमा, आफूखुसी बैठक र निर्णय

जसपाको विवाद उत्कर्षमा, आफूखुसी बैठक र निर्णय

  • आइतवार, जेठ २ २०७८

  • 675
    SHARES

  • जसपाको विवाद उत्कर्षमा, आफूखुसी बैठक र निर्णय

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको आन्तरिक विवाद सतहमा देखिन थालेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले शनिबार बैठक बोलाएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले बैठक नै नडाकिएको भन्दै प्रेस विज्ञप्ति निकालेर आपत्ति जनाएका छन् ।

    विज्ञप्तिमा उनले जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार दिनको १ बजेदेखि पार्टी कार्यालयमा हुने भनेर विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जालबाट सूचना र समाचार पाएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

    उनले विज्ञप्तिमार्फत जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यसको जानकारीसमेत आफूहरूलाई नभएको स्पष्ट पारेका छन् । अध्यक्ष यादवले भने आफ्नो निकटका सांसद तथा कार्यकारिणी समिति सदस्यको बैठक बोलाएर शनिबार छलफल गरेका छन् ।

    यादव समूहले बहुमतको आधारमा लुम्बिनी प्रदेशको सरकारलाई सहयोग गरेका चार जना सांसदलाई कारबाही गरेकोमा ठाकुरले त्यो निर्णय आधिकारिक नभएको भन्दै आपत्ति जनाइसकेका छन् ।

    जसपा नेपालका सांसद रामबाबु यादवले ठाकुर र राजेन्द्र महतो पक्षले पार्टीको विधानविपरीत महतोलाई पार्टी संसदीय दलको नेता घोषणा गरेको भन्दै कारबाहीको प्रस्ताव लगिने सञ्चारकर्मीहरूसँग बताए ।

    शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सांसद यादवले पार्टीको संसदीय दलको विधान नबनेको र विधान बनेपछि कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने भए पनि महतोलाई विधानविपरीत संसदीय दलको नेता बनाइएको प्रतिक्रियासमेत दिए ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


    आइतवार, जेठ २ २०७८०६:४०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij