काठमाडौं । नेकपा (एमाले)ले वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजना नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेको छ । आज बिहान बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपालसहित उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको हो ।
बैठकले नेपाललगायत असन्तुष्ट नेताको मागको सम्बोधन र निर्णय लिन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अधिकार दिने निर्णयसमेत गरेको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताउनुभयो ।
उहाँका अनुसार नेपाल पक्षलाई गरिएको कारबाही फिर्ता गरेर विपक्षी गठबन्धन नजान अपिलसमेत गरिएको छ ।
एमालेले चारैजना नेतालाई पार्टी हित र विधानविपरीत काम गरेको आरोपमा ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको थियो ।
उनीहरुलाई पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरूसँग निरन्तर बैठक, भेटघाट गर्ने र उनीहरूको पक्षपोषण गर्ने कार्य निरन्तर गरेको आरोप लगाउँदै एमालेले कारबाही गरेको थियो ।
संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आज बेलुका ९ बजे सकिदैछ। तर राजनीतिक दलहरुबीच नयाँ सत्ता गठबन्धन बन्न सकिरहेको छैन ।
नयाँ सरकारको नेतृत्व गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लागिपर्नुभएको छ । तर, जनता समाजवादी पार्टी (जसपा) दुई खेमा विभाजित भएपछि नयाँ सरकार गठन नै अन्योलमा परेको छ ।
हालको संसदको विद्यमान अवस्थामा विपक्षी गठबन्धनलाई बहुमत पु¥याउन कम्तीमा पनि थप १२ सांसदको आवश्यकता पर्छ । कांग्रेससँग ६१ र माओवादी केन्द्रसँग ४८ सांसद छन् । जसपाको उपेन्द्र यादव पक्षमा १६ जना छन् । यसरी हेर्दा विपक्षी गठबन्धनसँग १२५ को हाराहारीमा मात्रै सांसद हुन्छन् । बहुमतका लागि १ सय ३६ आवश्यकता पर्छ ।
एमालेको नेपाल पक्षका प्रत्यक्षतर्फका १९ जनाले राजीनामा दिँदा प्रतिनिधिसभामा सांसद संख्या २ सय ५२ हुन्छ । बहुमतका लागि १ सय २७ आवश्यक हुन्छ । नेपाल पक्षका १९ जनाले राजीनामा दिँदा पनि बहुमत जुटाउन गाह्रो नै छ ।
यता, एमाले अध्यक्ष ओली भने फेरि आफ्नै नेतृत्वलाई निरन्तरता दिन लागिपर्नुभएको छ । एमाले अध्यक्ष ओलीले पार्टीका शीर्ष नेतामार्फत नेपालसँग छलफल गरिरहनुभएको स्रोतले जनाएको छ । यसैबीच उपमहासचिव विष्णु पौडेल छलफलका लागि नेपाल निवास कोटेश्वर पुग्नुभएको छ ।
ओलीको एकताको सन्देश लिएर पौडेल नेपाल निवास पुगेको स्रोतले जनाएको छ ।