काठमाडौं - नेकपा (एमाले)का नेता घनश्याम भुसालले झलनाथ खनाल र माधवकुमार नेपाललाई गाली गरेर पार्टीे विभाजनको तयारी गरिएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले आज यस्तो बताउनुभएको हो ।
'हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ', उहाँले फेसबुकमा लेख्नुभएको छ, 'आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनःस्थापित हुँदा दोस्रोपटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दाबीको खण्डन हुँदैन ।'
नेता भुसालले घुमाउरो पारामा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आत्मसमर्पण नगर्ने बताउनुभएको छ ।
'विद्रोहले क्रान्तिमा योगदान गर्छ िक गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ', उहाँले लेख्नुभएको छ ।
