काठमाडौँ – अक्सिजन उत्पादक कम्पनीहरुले सरकारले अक्सिजन आपूर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट नेपालमा देखापर्ने चेतावनी दिएका छन् ।
कोभिड १९ संक्रमितको संख्या बढेसँगै अक्सिजन अभावमा बिरामीको मृत्यु भएको तथा अस्पतालका आइसियू र भेन्टिलेटर सञ्चालनमा समस्या भएको समाचार आइरहँदा अक्सिजन उत्पादकहरुले भविष्यमा अझै ठूलो समस्या आइपर्ने चेतावनी दिएका हुन् ।
अक्सिजन उत्पादक संघका महासचिव नारायण तिमिल्सिनाले बजारमा अक्सिजनको असाध्यै ठूलो अभाव भएकाले चौबिसै घण्टा प्लान्ट चलेको अवस्थामा पनि थेग्न सक्ने अवस्था नरहेको बताउनुभयो । उहाँले तत्काल सरकारले अक्सिजन आपूर्तिका लागि वैकल्पिक व्यवस्था नगर्ने हो भने यो समस्या चौगुणाले वृद्धि हुने चेतावनी दिनुभयो ।
उहाँले सरकारले अक्सिजन आपूर्ति सहज बनाउन बाहिरबाट आयात गर्ने कि स्वदेशी उत्पादनको क्षमता वृद्धि गर्ने भन्ने बारेमा छिटो निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो ।
अहिले काठमाडौँ उपत्यकामा मात्रै ८ वटा प्लान्ट सञ्चालनमा रहेको र २ वटा प्लान्टहरु मर्मतको क्रममा रहेको जानकारी दिँदै उहाँले सबै प्लान्ट पूर्ण क्षमतामा सञ्चालन गर्दा पनि वर्तमान अवस्थामा अक्सिजनको माग थेग्न नसकिने बताउनुभयो । अहिले दैनिक झण्डै ९ हजार ग्यास सिलिण्डर उत्पादन भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
सगरमाथा अक्सिजन नेपाल प्रालिका अध्यक्ष समेत रहेका तिमिल्सनाले घरमा अनावश्यक अक्सिजन स्टक नराख्न तथा घर, अस्पताल, इन्डस्ट्रिजमा भएका खाली सिलिण्डर उद्योगमा फिर्ता गरेर सर्वसाधारणको जीवन रक्षाका लागि सहयोग गर्न आह्वान गर्नुभयो । आफूले प्रयोग गरिसकेको सिलिण्डर उद्योगमा बुझाए अरु दुईजनाको ज्यान जोगिने कुरा बुझिदिन उहाँले आग्रह गर्नुभयो ।
अक्सिजनका लागि तत्काल सरकारले वैकल्पिक व्यवस्था गरेन भने भयावह स्थिति आउने सम्भावना बढ्दै गएको चिकित्सकहरुले पनि बताएका छन् । कतिपय अस्पतालहरुले त अक्सिजन अभाव भएकाले भर्ना भएका बिरामीहरुलाई अन्यत्र लैजान भन्दै लाचार भएर सूचना निकालेका छन् ।
यो विकराल स्थितिबाट जनताको ज्यान जोगाउनका लागि गम्भीर बन्न नेपाली कांग्रेसका नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत नेता थापाले अहिले सबै कुरा भुलेर कोरोना संक्रमित बिरामीहरुका लागि अक्सिजनको सहज आपूर्तिको व्यवस्थापन मिलाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । प्रधानमन्त्रीले चाहेमा अक्सिजन अभावको गाँठो फुक्न सक्ने दाबी नेता थापाको छ ।
यसैबीच चीनको बेइजिङबाट ४०० वटा अक्सिजन सिलिन्डर नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सको जहाजमार्फत ४०० वटा सिलिन्डर, १६० वटा अक्सिजन कसन्टेटर, १० थान भेन्टिलेटर गरि करीब ३० टन सामान काठमाडौँ ल्याइएको हो ।
चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४०० वटा आज ल्याइएको हो । यसबाट अक्सिजन आपूर्तिको समस्या केही हदसम्म न्यूनिकरण हुने अपेक्षा गरिएको छ ।