काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार बनाउन खोज्नु मधेश विरोधी काम भएको बताउनुभएको छ ।
गए राति विज्ञप्ती निकाल्दै अध्यक्ष ठाकुरले नयाँ सरकार गठन आफ्नो पार्टीको प्राथमिकता नरहेको बताउनुभएको हो ।
संसदमा विश्वासको मत नपाएपछि ओली सरकार ढलेसँगै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले वैकल्पिक सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै संयुक्त विज्ञप्ति जारी गरेको केही घण्टापछि ठाकुरले विज्ञप्ति जारी गर्नुभएको छ ।
विज्ञप्ति जारी गर्दै ठाकुरले ओली सरकारले जसपाका माग पूरा गरिरहेको बताउनुभएको छ ।
यस्तो अवस्थामा सरकार बनाउने गतिविधिमा संलग्न हुनु मधेशको भावना विरोधी काम भएको समेत बताउनुभएको छ । उहाँले जसपा सरकार केन्द्रित नभई मुद्दा केन्द्रित रहेको समेत बताउनुभयो ।
