काठमाडौं । सामूहिक राजीनामा दिने वा मतदानमा अनुपस्थित हुने भन्ने विषयमा निर्णय गर्न नेकपा (एमाले)को माधवकुमार नेपाल समूहका सांसदहरू जुटेका छन् ।
सोमबार सिंहदरबारमा बसेको सांसदहरूको बैठकले राजीनामा दिएर पनि केपी शर्मा ओलीकै सरकार निरन्तर रहने गरी राजनीति अघि बढ्यो भने के गर्ने ? भन्ने प्रश्न उठेको बताइएको छ । यसपछि सांसदहरुका दुई किसिमका धारणा आएको स्रोत बताउँछ ।
स्रोतका अनुसार केही सांसदले राजीनामा दिएर आत्मघाती बाटोमा जानु नहुने धारणा राखेका थिए । आजको संसद बैठकमा अनुपस्थित रहेर अझै विकल्प बाँकी राख्ने उनीहरुले सुझाव दिएको थिए । सोही बमोजिम नेता नेपाल अहिले स्थायी कमिटी सदस्यहरूसँग छलफल गर्दै हुनुहुन्छ ।
अध्यक्ष ओलीले छलफलका लागि आह्वान गरेको अवस्थामा राजीनामा दिँदा आफूहरूसँग कुनै विकल्प बाँकी नरहने सुझाव आएको एक सांसदले बताए । बैठकमा उपस्थित भएका समिना हुसेन र पार्वती विसुंखे राजीनामा नदिने भन्दै बाहिरिएका थिए ।
आजको बैठकमा २८ जना सांसद सहभागी भएको भीम रावलनिकट एक नेताले बताए ।
प्रधानमन्त्री ओलीले आज संसद्मा विश्वासको मत लिँदै हुनुहुन्छ । आफ्नो एमालेबाहेक प्रायः अन्य सबै प्रमुख पार्टीले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।