पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ । गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाउनुभएको हो ।
आज नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो । यसैबीच प्रदेश प्रमुख पौडेलले गुरुङको राजीनामा स्वीकृत गर्नुभएको छ ।
प्रदेश प्रमुख पौडेलले अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिनुभएको छ र अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा (३) बमोजित मौजुदा मन्त्रिपरिषदले कार्यसञ्चालन गर्न आग्रह गर्नुभएको छ ।
प्रदेश प्रमुख पौडेलले आइतबार नै संविधानको धारा १६८ (२) बमोजिम तीन दिनभित्र नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको छ ।
धारा १६८ (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।