काठमाडौँ । आज कानून दिवस मनाइँदैछ । वि.स. २००९ साल वैशाख २६ गते प्रधान न्यायालय ऐन लागू भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
दिवसका अवसरमा शुकामना व्यक्त गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको विकासमा प्रतिबद्धता जनाउनुभएको छ ।
आजको दिन न्याय, समानता एवम् विधिको शासनप्रति सम्मान र प्रतिबद्धता व्यक्त गर्ने विशेष दिन भएको भन्दै प्रधानन्यायाधीश राणाले न्यायपालिकाको नेतृत्वको हैसियतबाट नेपालको संविधानले प्रत्याभूत गरेको न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो स्पष्ट प्रतिबद्धता रहेको बताउनुभएको छ ।
आजको विशेष दिनले न्याय, समानता र विधिको शासनको प्रत्याभूतिको लागि क्रियाशील रहन सबैमा थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको छ ।
प्रधानन्याधीश राणाले कानुन दिवस कानून र न्याय क्षेत्रका लागि मात्र नभई सबै क्षेत्र र नागरिकको तहसम्म पनि त्यत्तिकै महत्वपूर्ण भएको भन्दै यसलाई राष्ट्रिय पर्वकै रुपमा मनाउन पनि विशेष आग्रह गर्नुभएको छ ।