काठमाडौं । सांसद सम्पर्कविहीन भएपछि स्थगित भएको गण्डकी प्रदेशको प्रदेशसभा बैठक २७ गते बस्ने भएको छ ।
बिहीबार बसेको कार्यसमिति बैठकले २७ गते बैठक बस्ने निर्णय गरेको हो ।
त्यसैदिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ ।
सत्तारुढ नेकपा एमालेले २८ र विपक्षी दलहरुले २६ गते नै बैठक बस्नुपर्ने बताएपछि सभामुखले २७ गते प्रस्ताव गरेका हुन् । त्यसमा दलहरु सहमत भएका छन् ।
१५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदान गर्ने कार्यसूची थियो । तर राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित हुनुभएको थियो । जनमोर्चाकी सचेतक पियारी थापाले बैठक रोक्न माग गर्दै निवेदन दिएपछि सभामुखले सूचना टाँसेर अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो ।
सदन स्थगन भएपछि पहिलो पटक सोमबार डाकिएको परामर्श समिति बैठक डाकिएको थियो । तर, बैठकले निर्णय गर्न नसकेपछि मंगलबार सर्वदलीय बैठक बस्ने र त्यही बैठकले निक्र्यौल गर्ने सहमति भएको थियो ।
तर, मंगलबारको सर्वदलीय बैठकले पनि कुनै निर्णय दिन नकसेपछि पुनः बिहीबारका लागि परामर्श समितिको बैठक डाकिएको थियो । बैठकले २७ गते सदन सुरु हुने निर्णय गरेको हो ।
सभामा नेकपा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रको सभामुखसहित १२, जसपा २, जनमोर्चा ३ र एक जना स्वतन्त्र सिट छ । स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ ले अहिलेकै सरकारलाई समर्थन गर्ने बताइसकेका छन् । उनी १६ गते खेलकुद तथा युवामन्त्री नियुक्त भएका छन् ।
प्रदेशसभा सचिवालयमा वैशाख २ गते मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव भएको थियो । वैशाख १३ मा उक्त अविश्वास प्रस्ताव सभामा पेस भएर १५ गते मतदान गर्ने यसअघिको कार्यसूची थियो ।