काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक केही बेर बसेर फेरी स्थगित भएको छ । आजको बैठक साउन १३ गतेसम्मका लागी सारिएको हो । आज बिहान ११ बजेका लागि तय गरिएको बैठक १ बजेका लागि तोकिएको थियो । अविरल वर्षाका कारण देशभर आएको बाढी पहिरोमा परेकाहरुको उद्धार तथा राहतका लागि जान भन्दै पुनः आगामी साउन १३ गतेसम्मका लागि स्थगित गरिएको नेकपाले जनाएको छ ।
निर्धारित सयमभन्दा केही ढिला गरी प्रधानमन्त्री निवासमै बैठक शुरु भएपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने बैठकमा अनुपस्थित थिएनन् ।
कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारको भूमिका प्रभावकारी हुन नसकेको भन्दै बैठकमा आलोचना हुन थालेपछि ओली धेरै बैठकहरुमा उपस्थित रहेका थिएनन् ।
नेकपाले बाढी, पहिरोमा परेकाहरुको उद्धार, राहत र पुनर्स्थापनामा परिचालित हुन नेता कार्यकर्तालाई निर्देशन दिएको छ । प्रकृतिक विपत्तिमा परेकाहरुको उद्धार प्रभावकारी बनाउन, घाइतेहरुको निःशुल्क उपचार, घरबारविहीन भएकाहरुलाई अस्थायी अवास र अभिभावक गुमाएका बालकालिकालाई संरक्षण गर्न नेकपाले सरकारको विशेष ध्यानाकर्षण गराएको छ ।