एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेन र जापानका प्रधानमन्त्री यशोहिडे सुगासँग टेलिफोन वार्ता गरेका छन् ।
प्रधानमन्त्री मोदीले सोमबार राष्ट्रपति बाइडेनसँग आफ्नो मुलुकमा गहिँरिदै गएको कोरोना संकट र त्यसको चूनौती सामना गर्ने विषयमा केन्द्रीत रहँदै टेलिफोन सम्वाद गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
टेलिफोन वार्तामा अमेरिकी राष्ट्रपति बाइडेनले कोरोना संकटमा फसेको भारतलाई सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन् ।
बाइडेनसँगको टेलिफोन सम्वादलगत्तै मोदीले सामाजिक सञ्जालमार्फत अमेरिका भारतलाई सहयोग गर्न तयार रहेको बताएका थिए ।
‘हामीले कोरोना खोपको कच्चा माल र औपधिको आपूर्ति श्रृंखलालाई कसरी सुव्यवस्थित गर्ने भन्ने बारेमा छलफल गर्यौं’, उनले लेखेका छन्, ‘भारत र संयुक्त राज्य अमेरिकाबीच स्वास्थ्य सेवा साझेदारीले कोभिड १९ द्वारा विश्वमा उत्पन्न चूनौतीको सामना गर्न सक्छ । हामीले दुबै देशमा महामारीले सिर्जना गरेको अवस्थाका बारेमा विस्तारपूर्वक कुरा गर्यौं ।’
यसअघि अमेरिकाले भारतलाई कोरोना खोपको कच्चा पदार्थ उपलव्ध गराउन रोकेको थियो । तर पछिल्ला दिन कोरोना महामारीको चपेटामा पर्दै गएपछि केही दिन अघिमात्रै अमेरिकाले भारतलाई कोभिशिल्ड कोरोना खोप बनाउन आवश्यक पर्ने कच्चा पदार्थ दिन सहमत भएको थियो ।
योसँगै अमेरिका भारतलाई स्वास्थ्यसम्बन्धी अन्य धेरै मद्दत गर्ने तयारीका साथ अगाडि आएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
सोमबारै भारतीय प्रधानमन्त्री मोदीले जापानका प्रधानमन्त्री सुगासँग पनि टेलिफोन वार्ता गरेका छन् । टेलिफोन संवादका क्रममा जापानका प्रधानमन्त्री सुगाले संगठित र सामूहिक प्रयासले मात्र महामारीविरुद्ध लड्न सकिने बताएका छन् । त्यसका लागि देशहरुबीच पारस्पारिक सहयोग धेरै महत्वपूर्ण हुने र जापानको तर्फबाट भारतलाई सहयोग गर्ने बचन समेत प्रधानमन्त्री सुगाले मोदीलाई दिएका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा २ लाख बढी कोरोना संक्रमित थपिएका छन् भने २ हजारभन्दा बढीको मृत्यु भएको छ । भारतमा अहिलेसम्म १ करोड ७५ लाख ८१ हजार ५ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको वल्ड्रोमिटरले जनाएको छ ।