काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसकिने बताउनुभएको छ ।
नेताहरुलाई सम्झाउने बुझाउने प्रयास गरिरहेको भन्दै उहाँले त्यसलाई कमजोरीको रुपमा नलिन चेतावनीसमेत दिनुभयो ।
मदननगर बल्खुमा आज विहान पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘पार्टी अनुशासित बनाउनुपर्छ, अनुशासनहीनतासँग सम्झौता गर्न सक्दैनौं । गुटगत गतिविधिलाई अब मान्यता दिन सक्दैनौं ।
माधव–झलनाथ समूहका नेताहरुलाई लक्षित गर्दै उनले अनुशासित भएर पार्टीमा काम गर्न आह्वान गर्नुभयो । ओलीले भन्नुभयो, ‘अहिले पनि हाम्रो प्रयास सम्झाउने बुझाउने छ । अनुशासित भएर पार्टीमा काम गरौं भनेर हरेकलाई सम्झाइरहेका छौं ।
‘यसलाई कमजोरी ठानिन्छ भने र गुटको आधारमा गतिविधि गर्न खोज्छ भने त्यो अब सम्भव छैन,’ उहाँले दोहोर्याउनुभयो।
ओलीले माधव–झलनाथ समूहका नेताहरुलाई एक्लाएक्लै छलफल गर्दै आएका छन् । हिजो साँझमात्रै ओलीले नेता माधव नेपालसँग छलफल गर्नुभएको थियो ।