काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनपछि एकल अध्यक्ष र प्रधानमन्त्री बन्न प्रस्ताव गरेको बताएका छन् ।
आफूपक्षीय नेताहरुसँगको सोमबारको छलफलमा प्रचण्डले त्यसका लागि जनताको बहुदलीय जनवाद मान्न ओलीले आग्रह गरेको तर आफूले इन्कार गरेको बताएका छन् ।
प्रचण्डले पूर्व माओवादीका सबै स्थायी कमिटि सदस्यहरुलाई सोमबार बिहान खुमलटारस्थित निवासमै बोलाएर यसबारे बिप्रिङ गरेका हुन् ।
‘पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद माने महाधिवेशनबाट एकल अध्यक्ष बनाउने प्रस्ताव आयो, मैले त्यसलाई अस्वीकार गरेँ । त्यसपछि अध्यक्ष र प्रधानमन्त्री दुवै बनाउने प्रस्ताव पनि आयो मैले त्यसलाई पनि नकारेको छु’, प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले जानकारी दिए ।
शीतल निवासमा शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँगको छलफलमा आफूलाई यस्तो प्रस्ताव गरिएको प्रचण्डले नेताहरुलाई जानकारी गराएका छन् ।
जवाफमा आफूले मंसिरमा महाधिवेशन पनि सम्भव नभएको र जबजलाई इन्कारै गरेको जानकारी समेत प्रचण्डले आफूपक्षीय नेताहरुलाई गराएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि सुरु भएको नेकपाका विवाद समाधान हुन सकेको छैन । सचिवालय बैठकमा ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । पार्टीको स्थायी कमिटि बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ ।