Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमाले विभाजनको योजनावद्ध कार्यान्वयन

एमाले विभाजनको योजनावद्ध कार्यान्वयन

  • मंगलवार, बैशाख ७ २०७८

  • 1.3K
    SHARES

  • एमाले विभाजनको योजनावद्ध कार्यान्वयन

    काठमाडौँ । २७ जना सांसदहरुलाई सोधिएको स्पष्टीकरण केपी ओलीका तर्फबाट नेकपा एमाले विभाजनको योजनावद्ध कार्यान्नयन रहेको माधवकुमार नेपाल समूहले बताएको छ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनको सहजताका लागि आफूहरुलाई पूर्वतयारीका साथ स्पष्टीकरण सोधेको माधव समूहमा रहेका सांसदहरुले बताएका हुन् ।

    अध्यक्ष ओलीले स्पष्टीकरणको पत्र काटेलगत्तै मावध समूहमा रहेका सांसद र वरिष्ठ नेताहरुबीच आज सामूहिक छलफल भएको थियो ।

    उक्त छलफलमा फागुन २८ गते यता पार्टी विभाजनका लागि ओलीले थुप्रै निर्णय गरिसकेको र सांसदलाई स्पष्टीकरण सोधेर विभाजनलाई थप कार्यान्वयन गरेको निष्कर्ष निकालिएको छलफलमा सहभागी सांसद झपट रावलले बताउनुभयो ।

    एमाले पार्टी परित्याग गरेर छुट्टै पार्टी निर्माणमा लागेकोसहितका आरोप लगाउँदै एमाले अध्यक्ष ओलीले २७ सांसदलाई दुई दिनभित्र स्पष्टीकरण बुझाउन अल्टिमेटम दिनुभएको छ । तर छुट्टै पार्टी निर्माण गरिरहेको आरोपको माधव समूहले प्रतिवाद गरेको छ ।

    आफूहरुले एमालेमै रहेर अन्तरसंघर्ष गरिरहेको र विभाजनको मनसाय समेत नरहेको यो समूहले बताएको छ । माधव समूहकी सांसद रामकुमारी झाक्रीले प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयं विभाजनको पक्षमा रहेको जिकिर गर्नुभयो ।

    २७ जना सांसदहरूलाई सोधिएको स्पष्टीकरण विभाजनकै निरन्तरताको एक कदम रहेको उहाँको आरोप छ ।
    आफ्नो पक्षका सांसदहरूलाई सोधिएको स्पष्टीकरणको राजनीतिक र कानूनी प्रतिवाद गर्ने पनि माधव समूहले बताएको छ ।

    सांसदहरुले व्यक्तिगत रूपमा स्पष्टीकरण बुझाउने तर राजनीतिक संघर्ष जारी राख्ने निर्णय गरिएको नेतृ झाँक्रीले बताउनुभयो । अध्यक्ष ओलीले व्यक्तिगत रुपमा पत्र काटेर सोधेको स्पष्टीकरण जवाफ दिन लायक नभएपनि प्रतिरक्षा नगरेको अर्थ जाने भएकोले पत्रको जवाफ बुझाइने झाँक्रीले बताउनुभयो ।

    केही दिनअघि धनगढीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता भीम रावलले जुनसुकै बेला एमाले विभाजन हुनसक्ने भएकाले तयारी अवस्थामा रहन नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको थियो । एमाले र सूर्य नभई नयाँ पार्टी र नयाँ चुनाव चिन्हबाट निर्वाचनमा जानुपर्ने परिस्थिति निम्तिन सक्ने रावलको आशय थियो ।

    वरिष्ठ नेता नेपालले काभ्रेमा एमालेमा नरहन पनि सकिने बताउनु र आज ओलीले छुट्टै पार्टी निर्माणमा संलग्न भएको आरोपसहित सांसदहरुलाई स्पष्टीकरण सोधिएको घटनाले एमालेको विभाजन अब टाढा नरहेको संकेत दिएको छ ।

    यसैबीच नेकपा एमालेले सांसद सदस्यबाट समेत कारवाही गर्ने प्रक्रिया अघि बढाएकै दिन पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले कांग्रेस सभापति शेरवहादुर देउवासँग छलफल गर्नुभएको छ ।

    मंगलबार अर्याल होटलमा आफू पक्षीय सांसदहरुसँगको बैठकपछि देउवा निवास बुढानिलकण्ठ पुगेका एमाले नेताद्वय खनाल र नेपाल देउवासँगको छलफलपछि टोखास्थित नेता भीम रावलको निवासमा गएको सुरक्षा स्रोतले जनाएको छ ।

    देउवासँगको छलफलमा केपी ओलीले सांसद सदस्यबाट कारवाही गर्ने कानुनी प्रक्रिया पुर्‍याउन आफूहरुसँग स्पष्टिकरण सोधेको भए पनि कारवाहीबाट जोगिने ढंगले कानुनी रीत पुर्याएर जवाफ दिइने बताएको स्रोतले जनाएको छ ।

    प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आउँदा एमालेका जति जना सांसदले फ्लोर क्रस गर्दा बहुमत पुग्छ त्यति संख्या तयार रहेको नेपाल पक्षले आश्वासन दिएको सूचना बालुवाटारमा पुगेको छ ।

    एमाले नेता रावलले कर्णालीमा भएको फ्लोर क्रसको क्रम संघीय संसदसम्म पुग्ने बताउनुभएको थियो ।

    पछिल्लो समय माधव नेपाल पक्ष कांग्रेस, माओवादी र जसपाको बाबुराम उपेन्द्र पक्षसँग निरन्तर संवादमा छ । ओलीलाई सत्ताच्युत गर्न सक्दा एमालेभित्रै आफूहरु बलियो बन्न सकिने आँकलन नेपाल पक्षको छ ।

     


    मंगलवार, बैशाख ७ २०७८०७:५६:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij