काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक सोमबार बिहान ११ बजे बस्नेछ । बैठकमा पार्टीले सरकारलाई दिएको समर्थन बारे निर्णय लिइने एक नेताले बताएका छन् ।
‘हामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन भन्यौ । उहाँले अहिलेसम्म दिनुभएको छैन’, उनले भने, ‘अब हामीले दिएको समर्थन फिर्ता हुनेछ । त्यसका लागि भोलिको स्थायी कमिटी बैठकले निर्णय लिनेछ ।’
माओवादी केन्द्रका नेताहरुले राजीनामा मागिरहे पनि प्रधानमन्त्री ओलीले एक औपचारिक कार्यक्रममा आफ्नो नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर देखाउन चुनौती दिनुभएको थियो ।
यसअघि शनिबार मात्र प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्र सहभागी भएको थिएन ।