काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा विभिन्न ३ एजेण्डामा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकपछि परराष्ट्रमन्त्री तथा एमाले नेता प्रदीप कुमार ज्ञवालीले बढ्दो कोरोना महामारीको रोकथाम तथा नियन्त्रण, रिक्त रहेको स्थानमा उपनिर्वाचन र संसदमा अड्किएको विधेयकबारे छलफल केन्द्रीत भएको बताउनुभयो ।
साथै, बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको उहाँको भनाइ छ ।
बैठकमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई सभामुख अग्निप्रसाद सापकोटाले संसदमा अड्काउने काम गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश पोख्नुभएको थियो । त्यसपछि काँग्रेस लगायतका दलले सो विषय संसदमा अड्काएर राख्न नहुने भन्दै त्यसलाई निर्णायार्थ पेश गरिनुपर्ने धारणा राखेका थिए ।
बैठकपछि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसी काँग्रेस सरकारकै पालामा आएकाले सो विषयलाई अड्काएर राख्न नहुने धारणा आफूहरुले राखेको बताउनुभयो ।
यस्तै परराष्ट्रमन्त्री ज्ञवालीले पनि एमसिसीसम्बन्धी विधेयक सभामुखले अड्काउन नमिल्ने भएकाले संसदले स्वीकृत–अस्वीकृत जे गरे पनि त्यसलाई प्रक्रियामा भने लगिनुपर्नेमा जोड दिनुभएको छ ।
बैठकका कोरोना नियन्त्रणको सवालमा सरकारले चाल्ने कदममा आफूहरुको साथ रहने धारणा दलहरुले राखेका थिए ।
‘कोरोना महामारीबारे सबै दल एकमत रहनु भएको छ । कोरोना रोकथाममा सरकारले सजगता अपनाओस्, प्रभावकारी ढंगले काम गरोस्, आवश्यक पर्छ भने विद्यालय बन्द गरेर भए पनि यसको नियन्त्रणमा सरकारले प्रभावकारी कदम चालोस् भनेर उहाँहरुले भन्नु भएको छ’, ज्ञवालीले भन्नुभयो ।
यस्तै प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको पूर्ति गर्न उपनिर्वाचन गर्नेबारे पनि सहमति भएको छ ।
निर्वाचन आयोगले तोकेको समयमा चुनावमा सहभागी हुन सकिने धारणा दलहरुको थियो । काँग्रेसले भने भदौमा पार्टीको महाधिवेशन हुने भएकाले त्यसबारे भने विचार गर्न आग्रह गरेको थियो ।
स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले सरकार राष्ट्रियताको सवालमा स्पष्ट रहेको भन्दै त्यसबारे ढुक्क रहन आग्रहगर्नु भएको थियो ।
यस्तै पछिल्लो समय राजनीतिक प्रणालीलाई कमजोर पार्ने प्रवृत्ति देखिएको भन्दै त्यसबारे पनि प्रधानमन्त्रीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको थियो ।
बैठकमा प्रधानमन्त्री ओलीले सबैको सहकार्यबाट मात्र कोरोना रोकथाम र नियन्त्रण गर्न सकिने भन्दै सबै दलसँग सुझाव मागेको राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले जानकारी दिनुभयो ।
नेता लोहनीले आफ्नो पार्टीको तर्फबाट बैठकमा कोरोना रोकथाम र नियन्त्रणका लागि पाँच–सात बुँदा पेस गरेको बताउनुभयो ।
बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता लोहनी र नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का नेता प्रेम सुवाल सहभागी हुनुहुन्थ्यो ।
बैठकमा नेकपा (माओवादी केन्द्र)बाट भने कोही पनि नेता सहभागी भएनन् । सर्वदलीय बैठकबारे आफूलाई जानकारी नै नदिइएको माओवादी केन्द्रले जनाएको छ ।
साथै, जसपाका नेताहरु उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पनि बैठकमा अनुपस्थित थिए ।