काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बोलाइएको बैठक केही बेरअघि सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत मन्त्रीहरु प्रदीप ज्ञवाली, विष्णु पौडेल सहभागी छन् ।
त्यस्तै, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र बालकृष्ण खाँड सहभागी छन् ।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण पनि बैठकमा सहभागी भएका छन् ।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष प्रकाशचन्द्र लोहनी, नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवाल पनि बैठकमा सहभागी भएका छन् ।
बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा जसपाका अध्यक्षहरु डा बाबुराम भट्टराई र उपेन्द्र यादव पनि सहभागी छैनन् । भट्टराई र यादवलाई निम्तो नै नगरिएको स्रोतले जनाएको छ । प्रचण्डलाई भने ओलीले शुक्रबार आफैं टेलिफोन गरेर निम्तो दिएका थिए ।
साथै, प्रधानमन्त्री आफैंले अन्य विभिन्न दलका शीर्ष नेतालाई पनि फोन गरी बैठकको निम्तो दिएका थिए ।
बैठकको सुरु गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समयमा मुलुकमा देखापरेका विभिन्न समस्याबारे छलफल गरिने बताएका छन् ।
पछिल्लो समयमा बढेको कोरोना जोखिमलगायत विषयमा छलफल गर्ने उद्देश्यले शीर्ष नेतालाई बालुवाटार बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘बैठकमा कोभिडको बढ्दो महामारी र सरकारको तर्फबाट चालिएका कदम लगायतका विषयमा छलफल हुनेछ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।