काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक आज ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि समसामयिक राजनीतिक विषयमाथि छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको े उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै पार्टीका शीर्ष नेतालाई निमन्त्रणा गरिएको छ । तर जनता समाजबादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भने बैठकमा निमन्त्रणा गरिएको छैन ।
निमन्त्रणाका लागि प्रधानमन्त्री ओलीले हिजो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गर्नुभएको थियो । तर प्रचण्डले बालुवाटारमा होइन, सिंहदरबारमा गरौं । अबदेखि बालुवाटारमा भेटघाट समेत नगरौं भन्ने जबाफ बताइएको छ ।
हिजो प्रधानमन्त्री ओलीले प्रचण्डलाई लामो समयको अन्तरालमा फोन गर्नुभएको थियो । ओली नेतृत्वको सरकार ढाल्न कसरत भइरहेको र प्रदेशमा एमाले नेतृत्वका सरकारमाथि धमाधम अविश्वासका प्रस्तावहरु आइरहेका बेला ओलीले बोलाएको सर्वदलीय बैठकलाई चासोका साथ हेरिएको छ ।