काठमाडौं । गत वर्षको पुस ५ मा प्रतिनिधिसभा विघटन गरेयता प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पानी बाराबारको स्थिति छ । उनीहरु सार्वजनिकस्थलमै एकअर्कालाई गाली गर्नमा व्यस्त छन् । चार महिना बितिसक्दा पनि उनीहरुले एक–अर्कालाई भेट्न त परै जाओस् फोनमा पनि कुरा गरेका कुरा बाहिर आएको थिएन ।
यद्यपि, आज भने दुई नेता बीचको सम्बन्धमा केही फरकपन आएको छ । प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेको विषय बाहिर आएको छ । यो विषय बाहिर ल्याउनेमा स्वयम् प्रचण्ड छन् ।
एउटा गाउँपालिकाको भवन उद्घाटन गर्न ललितपुर पुगेका प्रचण्डलाई आज प्रधानमन्त्री आफैँले फोन गरेको उनले बताएका हुन् । कोन्ज्योसोम गाउँपालिका ललितपुरको दक्षिणपट्टी पर्ने दुर्गम ठाउँ हो ।
आफूलाई फोन गरेपछि कोन्ज्योसोमको बाटो बनाइदिन आफूले उनलाई आग्रह गरेको प्रचण्डले बताएका छन् ।
‘यो राम्रो नराम्रो के हो, म यहाँ बस्दै गर्दा केपी ओलीको फोन आयो, धेरै समयपछि । म गाउँपालिकाको भवन उद्घाटन गर्दै छु भनेँ । मैले उद्घाटन गरेपछि तपाईंले के भन्न खोज्नुभएको हो ? यो बाटो बनाइदिनुस्, ठूलो काम हुन्छ भन्नेवाला छु’, उनले भने ।
सर्वदलीय बैठक बस्नका लागि प्रधानमन्त्री आफैंले प्रचण्डलाई फोन गरेको उहाँको निजी सचिवालयले जनाएको छ ।