काठमाडौं । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आज अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको छ ।
नयाँ सरकारका लागि गठबन्धन बनाउन कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठक अहिले बस्न लागेको छ ।
तीन पार्टी मिलेपनि जनमोर्चाको साथ समेत अनिवार्य भएकाले जनमोर्चाको साथ पाउने संकेत पाएपछि अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएको हो । जनमोर्चाको तीन सिट रहेको छ ।
काँग्रेसले आज सुरुमा माओवादीसँग र त्यसपछि दल जनता समाजवादी पार्टीसँग छलफल गर्ने तयारी गरेको नेताहरुले जानकारी दिएका छन् ।
दुवै दलसँग अविश्वासको प्रस्ताव दर्ता गर्ने, मिलेर सरकार बनाउने र मन्त्रालय भागबण्डा गर्ने बारेमा छलफल हुने जनाइएको छ ।
गण्डकी प्रदेशमा अहिले मुख्यमन्त्री एमालेका पृथ्वीसुब्बा गुरुङ हुनुहुन्छ भने अरु ६ वटा मन्त्रालय रहेका छन । सरकार गठन हुँदा ती मध्ये दुई मन्त्रालय तत्कालिन माओवादी पक्षका नेताहरुले पाएको भएपनि पार्टीको विवादपछि यही चैत २५ गते उनीहरु फिर्ता भएका थिए । उनीहरु फिर्ता भएको र जनमोर्चाले सकारात्मक संकेत दिएपछि नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको हो ।
मुख्यमन्त्री गुरुङ्ले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई समर्थन गरेकाले उहाँको पक्षमा उभिन नमिलेको जनमोर्चाले जनाएको छ ।
नयाँ सरकार बनेमा गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसको संसदीय दलका नेता कृष्णचन्द्र नेपाली बन्नुहुने भएको छ ।
अविश्वासको प्रस्ताव दर्ता, अन्य दलहरुसँगको छलफल र भागबण्डाका बारेमा छलफल गर्न आजै ११ बजे कांग्रेसको संसदीय दलको बैठक बस्ने तय भएको छ ।