एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जित निकालेको छ ।
गएराति भएको खेलमा पिएसजीले साविक विजेता तथा जर्मन क्लब बायर्न म्युनिखलाई उसको घरेलु मैदानमै ३-२ गोल अन्तरले पराजित गरेको हो ।
पिएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे । माक्र्विन्होसले एक गोल थपे ।
बायर्नका एरिक म्याक्सिम मोटिङ र थोमस मुलरले एक एक गोल फर्काए । बायर्नको मैदानमा तेस्रो मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए ।
खेलको २८ औं मिनेटमा माक्र्विन्होसले गोल गर्दै पिएसजीको अग्रता २-० को बनाए । खेलको ३७ औं मिनेटमा मोटिङले गोल गर्दै बायर्नलाई २-१ को स्थितिमा ल्याए । ६० औं मिनेटमा मुलरले गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो ।
तर, खेलको ६८ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीलाई ३-२ को जित दिलाए ।
यस जितसँगै पिएसजीले बायर्नविरुद्ध गत वर्षको फाइनलमा व्यहोरेको हारको बदला लिएको छ । गत सिजन पिएसजीलाई १-० गोल अन्तरले हराउँदै बायर्नले उपाधि जितेको थियो ।
यो जितपछि पिएसजीले सेमिफाइनल पुग्ने सम्भावना समेत बलियो बनाएको छ । बायर्नले भने दोस्रो लेगमा पुनरागमन गर्नु पर्नेछ । पिएसजीको मैदानमा हुने दोस्रो लेग अप्रिल १३ मा हुनेछ ।