काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले स्वार्थको राजनीति छोड्न प्रचण्डलाई आग्रह गर्नुभएको छ ।
उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै एमालेसँग पार्टी एकता गरेको उल्लेख गर्दै अहिले स्वार्थ नमिल्दा एकता फुटाएको दावी गर्नुभएको हो ।
नेकपा एमालेसँगको एकता जोगाउन आफुहरु अहिले पनि मन्त्री पदमा रहेको बताउँदै उहाँले सांसद पद खोस्नु जनमतको कदर नगर्नु भएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले भन्नुुभयो,‘प्रचण्डजीले पार्टी एकता गर्न हुने, स्वार्थ नमिलेपछि एकता टोड्नु, त्यो उहाँहरुको कमजोरी हो, हाम्रो के गल्ति छ पद नै खोस्नुपर्ने ।’
मन्त्री चौधरीले माओवादी केन्द्रले सरकारलाई दिएको सर्मथन फिर्ता पनि नलिने अनि सरकारमा भएका मन्त्रीहरुलाई मात्रै कारबाही गर्नु विधान विपरीत रहेको प्रष्ट पार्नुभएको छ ।
फरक प्रसंगमा मन्त्री चौधरीले कोरोनाभाइरसका कारण वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या घटेको जानकारी दिनुभयो ।
उहाँले अहिलेको विषम परिस्थितीमा रोजगारदाताले धेरै श्रमिकको माग नगरेकाले पनि वैदेशिक राजगारीमा जानेको संख्या घटेको बताउनुभयो ।