काठमाडौं । केन्द्रदेखि वडा तहसम्म समानान्तर कमिटी गठन प्रक्रिया सुरु गरेको नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षले आज बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गर्दै छ ।
बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा दिउँसो १२ बजे बस्ने बागमती प्रदेशको स्थायी समिति बैठकले सो प्रदेशको समानान्तर कमिटी घोषणा गर्न लागेको हो ।
खनाल–नेपाल पक्षकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले प्रदेश स्थायी समितिको बैठक ११ बजेलाई बोलाए पनि जिल्ला जिल्लाबाट प्रतिनिधिहरू आइपुग्न समय लाग्ने भएकाले केही ढिला हुनसक्ने जानकारी दिनभयो ।
सर्वोच्च अदालतले नेकपा विभाजन गर्ने फैसला गरेसँगै एमालेमा केपी शर्मा ओली र झलनाथ खनाल–माधव नेपाल पक्षले समानान्तर ढङ्गले गतिविधि गर्दै आएका छन् ।
अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति चर्को असन्तुष्टि जनाएको खनाल–नेपाल पक्षले यसअघि नै पार्टी सुदृढिकरण अभियान अन्तरगत तीन महिने कार्यक्रम घोषणा गरिसकेको छ ।
जुन अभियान अन्तर्गत वडा, जिल्ला प्रदेश हुँदै विभिन्न जनवर्गीय सङ्गठनमा पनि समानान्तर साङ्गठनिक संरचना बनाउने क्रम जारी छ ।