काठमाडौँ – कोरोना संक्रमणको दोस्रो लहर सुरु भई भयावह स्थिति पैदा हुने खतरा बढेको भए पनि सरकार मस्त निन्द्रामा रहेको भन्दै नेपाली कांग्रेसले सरकारको आलोचना गरेको छ।
आज बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदहरुले संक्रमण नियन्त्रणको प्रयासमा नजुटेको भन्दै सरकारप्रति आक्रोश पोखेका हुन् ।
सांसद मिना सुब्बाले नेपालमा कोरोनाको दोस्रो लहर सुरु हुने चरणमा रहेको तर सरकार बाँसुरीको धुनमा मस्त रहेको बताउनुभयो । उहाँले विगतको गल्ती सच्याउने तत्परता सरकारमा नदेखिएको बताउनुभयो ।
भारतमा रहेका ७० प्रतिशत नेपालीहरु घर फर्किएको बताउँदै उहाँले फेरि भयाभह अवस्था आउन सक्नेतर्फ गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
कांग्रेसका अर्का सांसद रामबहादुर बिष्टले कोरोना विरुद्धको अनुदानको भ्याक्सिन नआउने भए सरकार आफैले किन्ने तयारी गरेको छ कि छैन भनेर प्रश्न गर्नुभयो । उहाँले तीन महिनाभित्र सबैलाई खोप दिन्छु भन्ने प्रधानमन्त्रीको भाषण ख्यालठट्टा मात्रै हो कि भनेर पनि प्रश्न गर्नुभयो ।
कोरोना संक्रमणको जोखिम फेरि बढ्ने सांसदहरुको चिन्ता सरकारले पनि स्वीकार गरेको छ । तर नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्ड अपनाउनु नै उत्तम विकल्प रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रृदयश त्रिपाठीले बताउनुभयो ।
सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा उहाँले सचेत भइएन भने जेठ र असारमा कोरोना संक्रमणको दोस्रो लहर उच्चतम विन्दुमा पुग्ने चेतावनी दिनुभयो ।
यसैबीच काठमाडौँ उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौँ जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठक काठमाडौं प्रवेश गर्ने नाकामा एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।
एन्टिजेन परीक्षणबाट नेगेटिभ देखिएको र लक्षण देखिई शंकास्पद लागेमा पीसीआर परीक्षण गर्न स्वाब संकलन गरी पठाउने निर्णय पनि बैठकले गरेको छ ।
पछिल्लो चौबिस घण्टामा नेपालमा २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चार जनाको मृत्यु भएको छ भने १०२ जना डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।