काठमाडौँ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कमदलाई गलत ठहर्याउँदै सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेको करिब डेढ महिना वित्न लाग्दा समेत मुलुकको राजनीतिले लय समात्न सकेको छैन । गत फागुन ११ गते प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै सर्वाेच्चले संसद पुनस्र्थापना गरेपछि त्यसलगत्तै प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिने धेरैको अपेक्षा थियो ।
तर संसद विघटनलाई अदालतले गलत ठहर गरेपछि पनि नैतिकताको ख्यालै नगरी राजीनामा नदिएको भन्दै माओवादी केन्द्र, नेपाली कांग्रेसलगायतका दलले प्रधानमन्त्री ओलीको आलोचना गरेपनि ओलीले अहिलेसम्म राजीनामा दिनुभएको छैन । बरु प्रधानमन्त्री ओली सत्ताको साँचोधारी दल जनता समाजवादी पार्टी (जसपा)सँग सहकार्य गरेर आफ्नै नेतृत्वको सरकार टिकाइराख्ने प्रयत्नमा हुनुहुन्छ ।
वेटिङ गोभर्मेन्टका रुपमा लिइने प्रतिपक्षी दल नै वैचारिक रुपमा विभाजित हुनु, ओली नेतृत्वका सरकारविद्ध खरो रुपमा उत्रिएको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्नु र नयाँ सरकार गठबन्धनमा मुख्य निर्णायक विन्दुमा उभिएको जसपामा समेत मतैक्याता नहुँदा नयाँ सरकार बन्ने बाटो अलमलिएको देखिन्छ ।
वैचारिक मतभेदकै बिच हिजो भने नेपाली कांग्रेसले आधिकारिक रुपमै ओली सरकार विस्थापित हुनुपर्ने निष्कर्ष निकालेको छ । हिजो बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो ।
कांग्रेसको यो निर्णयले माओवादी केन्द्र उत्साहित देखिएको छ । कांग्रेसको निर्णयपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ छ ।
अब नयाँ सरकार गठनका बैठकहरू घनिभूत रूपले अघि बढ्ने र केही दिनभित्रै नयाँ सरकार बन्ने भन्दै प्रचण्डले आज कपिलवस्तुमा भएको कार्यक्रममार्फत सार्वजनिक रूपमै सबैलाई बधाई दिनुभयो ।
यता, विपक्षीका आलोचनालाई नजरअन्दाज गर्दै पछि नहट्ने अडानमा रहनुभएका प्रधानमन्त्री ओलीले भने माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने बताउनुहुन्छ । राजीनामा नदिएको भन्दै प्रधानमन्त्री ओलीको बारम्बार आलोचना गरेपनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने अहिलेसम्म फिर्ता लिएको छैन ।
हरेक दिन आफ्नो राजीनामा मागिएको भन्दै प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लेउभन्दा पनि नलिएको बताउनुभयो । प्रधानमन्त्री निवास बालुवाटारबाट आज देशभरका १ सय ६५ सडक सञ्जालको शिलान्यास गर्दै उहाँले आफ्नो राजीनामा माग्नेहरूलाई पहिले समर्थन फिर्ता लिन चुनौती दिनुभयो ।
नयाँ सरकार गठनका लागि पहल लिने कांग्रेसको निर्णयको माओवादी केन्द्रले स्वागत गरेका बेला एमालेको माधव नेपाल समूहबाट भने कांग्रेसको निर्णय अर्थहीन भएको प्रतिक्रिया आएको छ । कांग्रेसको निर्णय पार्टीभित्रको दबाब मत्थर पार्न र सार्वजनिक खपत बाहेक अरु केही नभएको नेपाल समूहका नेता विष्णु रिजालको टिप्पणी छ ।
प्रधानमन्त्री ओलीको विरुद्धमै रहेको नेपाल समूहको अविश्वासका बिच कांग्रेस नयाँ सरकार गठनमा आधिकारिक निर्णय गरेर अघि बढेको छ । तर वर्तमान अवस्थामा सत्ताको साँचोधारी दल जसपामा मतैक्यता छैन । जसकारण तत्काल नयाँ सरकार बन्न सहज परिस्थिति नभएको राजीतिक विश्लेषकहरुको विश्लेषण छ ।