काठमाडौं । प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थिति नहुनुको कारण खोजेको छ ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले ’प्रधानमन्त्री संसदमा नदेखिनु उहाँ माथिको सुरक्षा खतरा हो वा नैतिक खतरा हो?’ भन्दै प्रश्न गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले गत फागुनको दोस्रो साता तत्कालिन नेकपा गण्डकी प्रदेश कमिटीले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दा आफूमाथि सुरक्षा थ्रेट भएको अभिव्यक्ति दिनुभएको थियो । त्यसैलाई आधार मानेर आज सांसद बडूले प्रश्न गर्नुभएको हो ।
बैठकमा सांसद बडुले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि सत्यता भए–नभएको जवाफसमेत माग्नुभएको छ ।
सांसद बडूले प्रधानमन्त्री जस्तो व्यक्तिले असत्य कुरा बोलेको भए त्यो गौर जिम्मेवारी भएको तर्क गर्नुभएको छ ।
यसैबीच, विपक्षी दलहरुले म्यानमारमा लोकतन्त्रका लागि आन्दोलन गरिरहेका नागरिकमाथि त्यहाँको सेनाले गरिरहेको दमनको विरोध गर्न सरकारलाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको विशेष समयमा नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसी र जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले म्यानमारमा लोकतन्त्रका लागि आन्दोलन गरिरहेका नागरिकमाथिको दमनको विरोधमा सरकारले बोल्नुपर्ने धारणा राख्नुभएको हो ।
मानवअधिकार र लोकतन्त्रका लागि नेपाल बोल्नुपर्नेमा उहाँहरुको जोड थियो ।