काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले देश र जनताविरुद्ध अपराध प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको आरोप लगाउनुभएको छ ।
आफ्ना राष्ट्रघात लुकाउन आफूहरुलाई कारबाही गरिएको बताउदैं उहाँले राष्ट्र र सर्वसाधारणविरुद्ध अपराध ओलीले गरेको दावी गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. रावलले विधि, पद्धति र प्रक्रिया मिच्ने ओलीले अरुलाई विधिÐपद्धति सिकाउन नसुहाएको टिप्पणी गर्नुभएको छ ।
उहाँले निरंकुश तरिकाले काम गर्दै गरेका ओलीलाई मनपरी शासन गर्नेहरुलाई जनताले हराएको विषय मध्यनजर गर्न सुझाव दिनुभएको छ ।
उहाँले आफूमाथि भएको कारबाही कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिनुभयो ।
आफू र माधवकुमार नेपाललाई ६ महिना पार्टी सदस्यबाट निलम्बन गर्ने अध्यक्ष ओलीको निर्णयबारे प्रतिक्रिया दिँदै रावलले नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको महाधिवेशन आयोजक समितिको अध्यक्ष स्वयं अवैधानिक भएको स्पष्ट पार्नुभएको छ ।
पहिलो चरणमा संविधान र नेकपाको एकतामा प्रहार गरेका ओलीले दोस्रो चरणमा एमालेको नवौं महाधिवेशनबाट पारित सिद्धान्त, नीति र विधानको खिल्ली उडाएको र गुटको भेलाबाट स्वेच्छाचारी निर्णय गरेको नेता डा.रावलले बताउनुभएको छ ।