काठमाडौं । यस वर्षको ‘महामुर्ख’को उपाधि वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी)लाई प्रदान गरिएको छ । होली पर्वको अवसरमा मिथिला नाट्य कला परिषदद्वारा आज आयोजित विशेष कार्यक्रममा उहाँहरुलाई महामुर्खको उपाधि प्रदान गरिएको हो ।
महामुर्खको उपाधि पाएपछि मह जोडीलाई प्रशंसा पत्र, मिथिला चित्रकला, फूलमाला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
महामुर्ख सम्मेलनमा राजनीतिक छविका व्यक्तित्वलाई प्रदान गरिने भए पनि यस वर्ष कलाकारद्वय महजोडीलाई प्रदान गरिएको हो ।
तराई होली पर्वको पुर्वसन्ध्यामा जानकी मन्दिर परिसरमा महामुर्ख सम्मेलनको आयोजना गरिएको हो । कार्यक्रममा कवि शिरोमणिको उपाधि प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनललाई प्रदान गरिएको छ । जनता समाजवादी पार्टीका नेता शेषनारायण यादवलाई चोन्हमा, जनकपुरधाम उपमहानगरपालिका–४ का वडाअध्यक्ष सुदर्शन सिंहलाई वैशाखन्द, राजनीतिकर्मी राजिव झालाई वंश कुरहैर पदवी दिएको छ ।
सम्मेलनमा सहभागी कविहरूले आ–आफ्ना रचना प्रस्तुत गर्दै समसामयिक विषयमाथि व्यंग्य प्रहार गरेका थिए ।
महामुर्खको उपाधि दिने विगत २२ वर्षको परम्परा अनुसार यसअघि परिषदले मुख्यमन्त्री लालबाबु राउतलगायतलाई उपाधि प्रदान गरिसकेको छ ।
यसैबीच, यो वर्षको महामुर्ख उपाधि पाएकामध्येका एक आचार्यले आफूहरुलाई यो उपाधि दिइएकोमा आभार प्रकट गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत यस्तो बताउनुभएको हो ।
‘प्रदेश २ को मिथिला नाट्य परिषद् (जनकपुर)ले हामी महजोडीलाई महामुर्ख उपाधिबाट सम्मान गरेकोमा आभारी छौं’, उहाँले फेसबुकमा लेख्नुभएको छ ।
