काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज आकस्मीक रुपमा बस्न लागेको छ । पार्टीका केन्द्रीय सदस्य नविन्द्रराज जोशीको हिजो बेलुका निधन भएकाले आज बैठक बस्न लागेको हो ।
बैठकमा नेता जोशी प्रति श्रद्धान्जली दिदैँ उहाँको शोकमा पार्टीले गर्ने कार्यक्रमका बारेमा छलफल हुने केन्द्रीय सदस्य डा.डिला संग्रौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार विहान साढे नौ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा नै बैठक बस्ने तय भएको छ ।
झण्डै एक महिना देखि उपचार गराइरहनु भएका जोशीको काठमाडौ स्थीत नर्भिक अस्पतालमा हिजो बेलुका साढे आठ बजे निधन भएको हो ।
उहाँको शवलाई अहिले केहीबेरमा अस्पतालबाट निकालेर उहाँको निवासमा लैजाने तयारी भएको छ । अस्पतालबाट शवयात्रा निकालेर निवासमा केही समय राखेर श्रद्धान्जली दिएपछि पार्टी केन्द्रीय कार्यालयमा श्रद्धान्जलीका लागि राखिने भएको छ ।
शव नौ बजे अस्पतालबाट निकाल्ने, १० बजेदेखि ११ बजेसम्म निवासमा राख्ने र त्यसपछि निवासबाट पनि शवयात्रा सहित पार्टी कार्यालयमा राख्ने तयारी भएको छ ।
शव पार्टी कार्यालयबाट अपरान्ह शवयात्रासहित पशुपति आर्यघाटमा लगेर अन्त्येष्टि गर्ने तयारी भएको उहाँका निकटस्थहरुले जानकारी दिएका छन् ।
निष्ठावान र मेहनेती नेताका रुपमा चिनिनु भएका जोशीको जन्म २०१८ साल असार ३ गते काठमाडौमा भएको थियो । नेविसंघबाट राजनीतिमा लाग्नु भएका जोशी नेविसंघको महामन्त्री हुनुभएको थियो भने २०४९ सालमा काठमाडौ महानगरको उपमेयर हुनुभएको थियो । उहाँ यसअघि २०६४ र २०७० मा प्रतिनिधि सभा सदस्य पनि हुनुभएको थियो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भएका बेला उहाँ पूर्व उद्योग मन्त्री हुनु भएको थियो । उहाँले जोशीले मन्त्रालयको जिम्मेबारी सम्हालेका बेलामा बन्द उद्योगहरु खुलाउने, लगानी सम्मेलन गर्ने, युवाहरुलाई उद्यममा लगाउने धेरै कार्यक्रमहरु ल्याउनु भएको थियो ।