काठमाडौँ – एक नाबालक र ८ प्रहरी गरी ९ जनाको हत्या भएको घटनामा दोषी ठहर भई जेल जीवन बिताइरहेका रेशम चौधरीको रिहाईको माग गर्दै भइरहेको आन्दोलनमा सरकारले ऐक्वयद्धता जनाएको छ ।
सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आज रेशम रिहाईको माग गर्दै सुरु भएको धर्ना कार्यक्रममा सहभागी हुनुभएको हो । पलेटी कसेर धर्नामा सहभागी हुनुभएका गृहमन्त्री बादलले रेशम चौधरीलाई छुटाउन सरकारले पहल गरिरहेको भन्दै भाषण पनि ठोक्नुभयो ।
२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा हिंसा भड्किँदा एक नाबालक र ८ प्रहरीसहित ९ जनाको हत्या भएको थियो । उक्त घटनाका मुख्य योजनाकार रहेको आरोपमा रेशम चौधरीलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले दोषी ठहर गरेको छ ।
हाल सर्वाेच्चमा यो मुद्दा विचाराधिन छ । राजनीतिक घटनाक्रमले केपी शर्मा ओली नेतृत्वको सरकारको खुट्टा लडखडाएसँगै रेशम रिहाईको मागले राजनीति फेरि गर्माएको हो । तर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सरकारले चाहँदैमा रेशमको रिहाई हुन नसक्ने तर्क गर्नुहुन्छ ।
जनता समाजवादी पार्टीले सरकारलाई समर्थन दिन रेशम रिहाईको मागलाई पहिलो सर्त बनाएको छ । गृहमन्त्री बादल रेशमको रिहाईको माग गर्दै भएको धर्नामा सहभागी हुनुसहितका पछिल्ला घटनाले सत्ता टिकाउन प्रधानमन्त्री ओली पनि रेशमलाई रिहा गर्नुपर्ने जसपाको माग पूरा गर्न सहमत भएको बुझिन्छ ।
जघन्य अपराधमा दोषी ठहर भएका व्यक्तिको रिहाईको माग गर्दै गृहमन्त्री नै धर्नामा बस्नुले सरकारले नै कानुनी राज्यको धज्जी उडाएको पुष्टि हुने नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले बताउनुभयो ।
उहाँले कांग्रेस सभापति शेरबहादुर देउवाले इटा भट्टामा ज्यूँदै मानिस जलाएको आरोप लागेका नेता अफताव आलमको रिहाईका लागि पहल गर्छु भन्दै दिएको अभिव्यक्तिप्रति पनि विरोध जनाउनुभयो ।
रेशम आवद्ध जनता समाजवादी पार्टी र थारुसँग सम्बद्ध विभिन्न संघ संगठनहरुले टीकापुर घटना राजनीतिक भएकाले राज्यबाट पनि सोही बमोजिम व्यवहार हुनपर्ने माग उठाउँदै आएका थिए। तर सरकारले यसअघि यो माग सुन्नै चाहेको थिएन ।
बरु बिरामी परेपछि जेलबाट अस्पताल लगिएका रेशमलाई अस्पतालको शैयामै साङ्लोले बाँधेर राख्दै सरकारले मानवीयता बिर्सेको थियो । अहिले सत्ता जोगाउनकै लागि ओली सरकारले उनै रेशमलाई काखी च्याप्न खोज्नु राजनीतिक बेइमानी सिवाय अरु केही हुन सक्दैन ।