सर्लाही । राष्ट्रिय स्तरमा चर्चित सर्लाहीका १७ जना कलाकार तथा पत्रकारहरुलाई सर्लाहीमा भव्य सम्मान गरिएको छ ।
बरहथवा नगरपालिकाले वडा नं. २, हजरियास्थित खेल मैदानमा सर्लाही स्वर्णिम सम्मान २०७७ आयोजना गरि चर्चित कलाकार, कवि, निर्देशक, पत्रकारलगायतलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा कवि एवं गीतकार दिनेश अधिकारी, नायक निखिल उप्रेती, गायक शिव परियार, हास्यकलाकार शिवशंकर रिजाल (जोगेन्दर), निर्देशक प्रतिप भट्टराई, गायक कमल खत्री, बासुरीबादक बुद्ध लामा, गायक कर्ण राज गिरि, मोडल कविता नेपाली रहनु भएको छ ।
त्यसैगरी नेपाल पत्रकार महासंघ सर्लाहीका पूर्व अध्यक्ष कृष्णकुमार इस्माली र अनलाइन टीभी पत्रकार संघका सचिव सरोज गिरी, महिला निर्देशक सम्झना उप्रेती रौनियार, सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराई, रंग पत्रकार प्रदीप कार्की, गायक यश कुमार, निर्देशक पुर्णेन्द्र झा, संगीतकार टिका बम्जन, पत्रकार दिवाकर मैनाली, कलाकार विजय बराल लगायतलाई पनि सम्मान गरिएको थियो ।
जिल्लामा पहिलो पटक यसरी बरहथवा नगरपालिकाले कलाकार, पत्रकार तथा सृष्टाहरुलाई एकैठाउँमा भेला परेर सम्मान गरेको कार्यक्रम संयोजक नविन गिरिले जानकारी दिनुभयो ।
कलाकारिता एवं पत्रकारिता क्षेत्रमा उल्लेख्य प्रगति गरेकाले थप प्रेरणा र प्रगतिका लागि सगौरब उहाँहरुलाई सम्मान गरिएको बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले बताउनुभयो ।
उहाँहरुलाई नगरप्रमुख महतो, उपप्रमुख सीतादेवी माझीलगायतले कदर पत्र प्रदान गर्दै दोसल्ला ओढाउनु भएको थियो । कार्यक्रममा उपस्थित कलाकारहरुले आ–आफ्नो प्रस्तुतिबाट मनोरञ्जन पनि प्रदान गर्नु भएको थियो ।
सम्मानअघि स्थानीय वासिन्दाको उल्लेख्य सहभागितामा टायरगाढासहित भव्य ¥याली समेत निकालिएको थियो ।