काठमाडौं । एमालेको केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसहितका पाँचजना नेतालाई स्पष्टीकरण सोध्ने भएको छ ।
शनिबार बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता नेपालसहित नेताहरु भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रामकुमारी झाक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
पार्टी हितविरुद्ध काम गरेको नेतृत्व र पार्टीलाई खुइल्याउन र सरकारको बदनाम गराउन गुटगत भेला गरेकोले स्पष्टीकरण सोध्ने निर्णय गरेको ओली पक्षका एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो ।
यो निर्णयसँगै ओली पक्षले नेपाल–खनाल पक्षलाई कारबाही गर्ने प्रकृया शुरु भएको अर्थका रुपमा हेरिएको छ । अर्का बरिष्ठ नेता झलनाथ खनाल पनि नेपाल पक्षमा रहेपनि उहाँलाई भने स्पष्टिकरण सोध्ने निर्णय गरिएको छ ।
बैठकले पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको विदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार दिएको छ ।
बैठकले अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकाय पार्टीको तर्फबाट गर्ने सबै काम पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णय गरेको छ । २०७८ मंसिर २ देखि ६ सम्म हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि अहिलेको २ सय ६४ सदस्यीय कमिटीलाई आयोजक कमिटी बनाउने निर्णय गरिएको ती नेताले जानकारी दिए ।