काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको राजीनामासँगै सरकारले नयाँ महान्यायाधिवक्तमा अधिवक्ता रमेश बडालको नाम सिफारिस गरेको छ ।
आज दिउँसो महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलन गर्दै अग्नी खरेलले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । खरेलको राजीनामापछि सरकारले अधिवक्ता बडालको नाम सिफारिस गरेको हो ।
अधिवक्ता बडालले आफ्नो नाम महान्यायाधिवक्तमा सिफारिस भएको खबर आएको बताउनुभयो । उहाँले आफूलाई पर्सी बिहान ११ बजे शपथग्रहणका लागि बोलाइएको बताउनुभयो ।
उहाँ एमालेनिकट ट्रेड युनियन जिफन्टका उपाध्यक्षसमेत हुनुहुन्छ । नेपालको संविधान २०७२ को धारा १५७ (२) मा प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने व्यवस्था छ ।