काठमाडौँ – नेकपा एमालेको माधव नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै आज सकिएको छ।
दुई दिनसम्म चलेको भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको अवधारणा पत्रमाथि भएको छलफलपछि आएका सुझावसमेत समेटेर १७ बुँदे प्रस्ताव पारित गरिएको हो।
भेलाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय अस्वीकार गरेको छ।
सर्वोच्चको फैसलापछि ब्यूँतिएको एमाले ०७५ जेठ २ गतेको अवस्थामा फर्किएको र सोहीअनुसारका गतिविधि हुनुपर्ने नेपाल पक्षले जनाएको छ। भेला समापनपछि आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव योगेश भट्टराईले आफूहरु ओलीप्रवृत्तिको अन्त्य र एकताको पक्षमा अन्तिम समयसम्म लडिरहने बताउनुभयो।
ओलीले फाुगन २८ मा एकलौटी ढंगले गरेको निर्णय फिर्ता नभएसम्म संघर्ष गरिरहने तर आफूहरुले पार्टी फुटको घोषणा भने नगर्ने उहाँले बताउनुभयो।
माधव नेपाल समूहले आफूहरुले पार्टी फुटको घोषणा नगर्ने बताए पनि प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीले बाँधिएर बस्नुभन्दा पार्टी फुटाएर जान चुनौती दिनुभएको छ।
मिलेर जान नसकेका अवस्थामा कसैलाई बाँधेर पार्टीमा राखिराख्न लोकतन्त्रमा नमिल्ने प्रधानमन्त्रीको भनाई छ। एक अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले पार्टी फुटाउन असहज भएको भए निवेदन पेश गरे आफूले सहज पारिदिने घोषणा पनि गर्नुभयो।
प्रधानमन्त्री केपी ओलीले फुटेर जान खुला आह्वान गरे पनि माधव नेपाल समूहले भने एमालेमै रहेर ओली प्रवृत्तिविरुद्ध लड्ने बताएको छ।
तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नजरमा अब एमाले एक भएर हिँड्न सक्ने सम्भावना छैन । संसद विघटनपछि आफूले भन्दा धेरै माधव नेपालले केपी ओलीलाई गाली गरेको प्रचण्डले बताउनुभयो ।
केही दिनअघि बुटवलमा आयोजित एक कार्यक्रममा प्रचण्डले माधव नेपालहरुले ओलीलाई परास्त गरेर एमाले कब्जा गर्ने नत्र विद्रोह गरेर आफूहरुसँग एकता गर्ने बताउनुभएको थियो । त्यसपछि सिन्धुलीबाट अध्यक्ष ओली र माधव नेपालबीच थप फाँटो श्रृजना हुने अभिव्यक्ति दिएपछि प्रचण्डलाई एमाले विभाजनको मुख्य खेलाडीको आरोप लागेको छ ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै कारण एमालेमा समस्या उत्पन्न भएको बताउनुभयो।
अन्तरविरोधहरुमा खेलेर ढाडमा टेकेर टाउकोमा हान्न अभ्यस्त दाहालले एमाले भित्रका अन्तरविरोधलाई प्रयोग गरेको आरोप लगाउनुभयो ।
नेकपा एमालेको ओली समूहले एमालेमा विभाजनको भूमिका प्रचण्डले खेलिरहेको आरोप लगाएको यो पहिलो पटक होइन । नेकपा एमाले र माओवादी केन्द्रबीच एकत भइ नेकपा पार्टी रहँदा पनि माधव समूहलाई प्रयोग गरेर प्रचण्डले पार्टी फुटाउन खोजेको आरोप ओली समूहले लगाएको थियो ।