काठमाडौं। नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा समूहगत छलफल पछि प्रतिवेदन बुझाउने क्रम जारी छ ।
सुझाव प्रतिवेदनमा केपी ओली पक्षले राज्यका स्रोत साधन दुरुपयोग गरेर कम्युनिस्ट आन्दोलनलाई नै कमजोर पार्ने प्रयास गरेकाले ओली सरकार ढाल्नुपर्ने सुझाव समेटिएका छन् । त्यस्तै ओलीविरुद्धको मोर्चाबन्दी कसिलो बनाउन माओवादी केन्द्रसँग एकता गर्न समेत पछि पर्न नुहुने समूहगत छलफलका क्रममा सुझाव आएको टोली नेताहरुले बताएका छन् ।
प्रदेश १ का तर्फबाट समूहगत छलफलपछि नेता घनेन्द्र बस्नेतले प्रतिवेदन पेश गर्नुभएको छ । त्यस्तै लुम्बिनी प्रदेशको प्रतिवेदन पनि पेश भएको छ । त्यस्तै लुम्बिनी प्रदेशको प्रतिवेदनमा तीन वटा सुझाव पेश गरेको छ । सांगठनिक, वैचारिक र विविध विषयमा प्रतिवेदन केन्द्रीत रहेको छ ।
गण्डकी प्रदेशका तर्फबाट श्रीमाया थकालीले आफ्नो समुहको प्रतिवेदन पेश गर्दै नेता माधव नेपालले पेश गरेको प्रतिवेदनलाई समर्थन जनाउँदै थप सुझावहरु पेश गर्नुभएको छ । १० समुहमा विभाजित टोली नेताहरुले आआफ्नो समुहको सुझाव प्रतिवेदन बुझाउने क्रम जारी छ ।