Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले फेरि संसद विघटन गर्ने भनेपछि शीतल निवासमा बबण्डर

प्रधानमन्त्रीले फेरि संसद विघटन गर्ने भनेपछि शीतल निवासमा बबण्डर

  • मंगलवार, चैत्र ३ २०७७

  • 1.3K
    SHARES

  • प्रधानमन्त्रीले फेरि संसद विघटन गर्ने भनेपछि शीतल निवासमा बबण्डर

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि संसद विघटन गरेर ताजा जनादेशमा जानुको विकल्प नरहेको बताएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले डाकेको सर्वदलीय बैठकमा नेताहरुबीच घोचपेच चलेको छ । आज अपरान्ह मुलुकको समसामयिक विषयबस्तुमाथि छलफल गर्न राष्ट्रपतिले सर्वदलीय बैठक बोलाउनुभएको थियो ।

    उक्त बैठकमा प्रधानमन्त्री ओलीले फेरि पनि ताजा जनादेश नै उपयुक्त रहेको बताएपछि सहभागी अन्य नेताहरुले प्रतिवाद गरेका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्रीले संसद विघटन गरेर ताजा जनादेशमा जान उचित हुने बताएपछि आफूहरुले प्रतिवाद गरेको बताउनुभयो ।

    बैठकमा सहभागी सरकार पक्षका नेताहरु बाहेक अन्यले फेरि पनि संसद विघटन गर्न उचित हुने प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध जनाएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि संसद विघटन गरे देशका लागि घातक हुने चेतावनी दिनुभयो । तर कांग्रेस सभापति शेरबहादुर देउवाले भने ताजा जनादेशमा जान उचित हुने ओलीको अभिव्यक्तिप्रति घुमाउरो समर्थन जनाउनुभयो ।

    सरकारले कामै गर्न नसक्ने अवस्था भए ताजा जनादेशमा जानु ठीक भए पनि अब अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो । सके आफू नेतृत्वको सरकार टिकाउने नसके ताजा जनादेशमा जाने चलबाजीमा प्रधानमन्त्री ओली रहेको बुझिन्छ । तर माओवादी केन्द्रका नेताहरुले भने चैत ५ पछि ओली सरकार ढालिने घोषणा गरेका छन् । नेता वर्षमान पुनले चैत ५ पछि कांग्रेस जसपा र माओवादी मिलेर ओली सरकार ढालिने दाबी गर्नुभयो ।

    हुन त जसपासँग मिलेर आफू नेतृत्वको सरकार जोगाउन ओलीले प्रयास गरिरहनुभएको छ । तर एमालेभित्रै विभाजनको संकेत देखिएपछि ओली सरकारलाई समर्थन जनाउने जसपाको सम्भावनाले दूरी लिएको छ । यसैबीच एमालेको माधव नेपाल समूहले ओलीको स्वच्छाचारी प्रवृत्तिविरुद्ध लड्ने भन्दै भोलि राष्ट्रिय भेला बोलाएको छ ।

    उक्त भेलामा देशभरीबाट एमाले कार्यकर्ताहरु सहभागी हुँदैछन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले भने उक्त भेलामा सहभागी हुने नेता कार्यकर्तालाई कारबाहीको धम्की दिनुभएको छ । आज बालुवाटारमा आयोजित चियापान समारोहबाट ओलीले गुटका भेलामा सहभागी भए कारबाही हुने चेतावनी दिनुभयो ।

    तर माधव नेपाल समूहले भने केपी ओलीले गर्ने कारबाही भोग्न आफहरु तयार रहेको प्रतिक्रिया दिएको छ । राष्ट्रिय भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव योगेश भट्टराईले केपी ओलीले गर्ने कारबाही भोग्न आफूहरु लामबद्ध रहेको बताउनुभयो ।

    प्रधानमन्त्री ओलीले आफूले बोलाएको चियापान बहिष्कार गर्ने नेपाल समूहप्रति चर्काे आक्रोश पनि पोख्नुभएको थियो । उहाँले घुमाउरो अर्थमा प्रचण्डले बोलाएको चियापानमा जानेहरु पार्टीले बोलाएको चियापानमा नआएको आरोप लगाउनुभयो । भोलिको भेलाको तमासा हेर्न एक नजर त्यता पनि लगाइने ओलीले बताउनुभयो ।

    भेलाको तमासा हेर्न एक नजर लगाइने बताएपछि प्रधानमन्त्री ओलीलाई नेपाल समूहले प्रमुख अतिथि बनेर आउन निम्तो दिएको छ । पत्रकार सम्मलेनमा सचिव भट्टराईले देशभरीबाट आउनेहरु पार्टी अध्यक्षकै नेता कार्यकर्ता भएकाले भेलामा प्रमुख आतिथ्यता ग्रहण गरेर सहभागी हुन ओलीलाई आग्रह गर्नुभयो । उहाँले नजर लगाउन आउने ओलीका अनुयायीहरुलाई परिचयसहित आउन पनि आग्रह गर्नुभयो ।

    एमालेमा माधव नेपाल समूह र संस्थापन समूहबीच चर्केको द्वन्द्वले राजनीति तरंगित छ । तल्लो तहका नेता कार्यकर्ताहरुले फेरि पनि वाम एकताका पक्षमा मत जाहेर गरिरहेका बेला नेतृत्व तहमा रहेका नेताहरु सहमतिमा जानु भन्दा विभाजनका लागि तयार देखिन थालेका छन् ।

     


    मंगलवार, चैत्र ३ २०७७०८:००:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij